इलाम, फागुन ४ । अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरी इलामका विभिन्न स्थानमा सञ्चालन गरिएको अपाङ्गता पहिचान शिविरमा ३५४ जनालाई परिचयपत्र प्रदान गरिएको छ ।
करूणा फाउण्डेशन नेपालको आयोजनामा माघ ८ गतेदेखि तीन सातासम्म सञ्चालित सो शिविरमा कोल्बुङ, श्रीअन्तु, फिक्कल, बरबोटे, चिसापानीलगायत विभिन्न क्षेत्रका अपाङ्गता भएका व्यक्तिले परिचयपत्र प्राप्त गरेका हुन् ।
शिविरमा ३८ जनालाई रातो, १०० जनालाई निलो, १४९ जनालाई पहेँलो र ६७ जनालाई सेतो परिचयपत्र वितरण गरिएको करूणा फाउण्डेशनका सन्तबहादुर विश्वकर्माले बताए । रातो र निलो परिचयपत्र पाउनेले राज्यबाट क्रमशः मासिक रु दुई हजार र रु ६०० सामाजिक सुरक्षा भत्ता पाउँछन् ।
उक्त शिविरमा उनीहरुको स्वास्थ्य परीक्षणसमेत गरिएको थियो । करूणा फाउण्डेशनले अपाङ्गता भएका कारण परिचयपत्र बनाउन नसकेकाहरुका लागि उनीहरुको घरदैलोमै पुगेर परिचयपत्र उपलब्ध गराउने कार्यमा सहयोग गरेको फाउण्डेशनका कार्यक्रम अधिकृत प्रदीप अधिकारीले बताए ।