संसदीय दलको नेतामा अध्यक्ष दाहाल

काठमाडौँ, फागुन ६ । पार्टीको संसदीय दलको नेतामा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनिएका छन् ।

माओवादी केन्द्र संसदीय दलको आज बसेको बैठकले पार्टी अध्यक्षलाई सर्वसम्मत रुपमा दलको नेतामा छनोट गरेको पार्टी प्रवक्ता पम्फा भुसालले बताइन् । बैठकले वैचारिक पाटालाई एमाले र माओवादी केन्द्रबीचको वार्ता र सहमतिबाट टुंगो लगाउन पहल गर्ने र पार्टी एकता तथा सरकारमा हुने सहभागितालाई सँगै लैजाने निर्णय गरेको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच आज हुने छलफल पनि एकता अन्तर्गत पार्टीको मार्गदर्शक सिद्धान्त एवम् सरकारलाई पूर्णता दिने विषयमा हुने प्रवक्ता भुसालले जानकारी दिइन् ।

उक्त अवसरमा प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित हुने सांसदलाई अध्यक्ष दाहालले प्रमाणपत्र दिएका थिए ।