स्थानीय बासिन्दाले ल्याए विद्यार्थीमा खुशी

पाल्पा, फागुन ६ । पाल्पा तानसेन नगरपालिकास्थित रहेको कुनसेर आधारभूत विद्यालयको संरक्षणका लागि स्थानीय बासिन्दा जुटेका छन् ।

लामो समयसम्म मर्मत सम्भार हुन नसकेको यस विद्यालयमा स्थानीय बासिन्दाले पैसा संकलन गरी विद्यालय संरक्षणमा जुटेको स्थानीयवासी जीतबहादुर थापाले बताएका छन् । स्थानीय बासिन्दाको घरघरमा गएर पैसा संकलन गरी विद्यालयलाई मर्मत सम्भार तथा रंगरोगन गरी सुन्दर बनाएको उनले बताए ।

विद्यालयका तीन वटा भवन मर्मत सम्भार तथा रंगरोगन गरेपछि विद्यालय आकर्षक बनेको छ । स्थानीय बासिन्दाले रु ५० देखि रु एक हजार पाँच सयसम्म आर्थिक सहयोग गरेको विद्यालयका प्रधानाध्यापक राजेन्द्र बस्यालले जनाए । उक्त विद्यालय आसपासका क्षेत्रमा १४६ घरपरिवारको बस्ती रहेको छ । विद्यालयमा ८२ जना विद्यार्थी अध्ययन गर्दै आएको प्रअ बस्यालले बताए ।

विद्यार्थीहरु सफा र सुन्दर कक्षाकोठामा बसेर अध्ययन गर्न पाउँदा निकै हर्षित भएका छन् । पहिला जीर्ण र फोहोर कक्षा कोठामा बस्ने बालबालिका सफा र सुन्दर कक्षाकोठा बनेपछि विद्यालयमा नियमित उपस्थित हुन थालेको प्रअ बस्यालले जनाएका छन् ।