चैत ९ देखि औद्योगिक मेला हुँदै

काठमाडौँ, फागुन ६ । स्थानीय स्तरमा उत्पादित वस्तुलाई जनतामाझ चिनाउन अथवा पुर्याउनका लागि घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा आगामी चैत ९ देखि १३ गतेसम्म २९औँ औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी हुने भएको छ ।

‘स्वदेशी वस्तु उपयोग गरौँ, समृद्धितर्फ अगाडि बढौँ’ भन्ने मूल नाराका साथ काठमाडौँको भृकुटीमण्डपमा सो मेलाको आयोजना हुन लागेको हो । समितिका कामु सह–कार्यकारी निर्देशक सुरेन्द्र थापामगरले साना उद्योगबाट स्थानीय स्तरमा उत्पादित सामग्री प्रदर्शनीका लागि सो मेला आयोजना गर्न लागिएको जनाए ।

मेलामा गलैँचा, अल्लोका कपडा, ऊनीको धागो, मादल, नेपाली कागजबाट निर्मित वस्तु, विभिन्न किसिमका अचारका परिकार, काठबाट निर्मित वस्तु, भोजपुरे खुकुरी, पाल्पाली ढाका, पश्मिनाका कपडा लगायतका सामग्रीहरु राखिने समितिले जानकारी गराएको छ । सह–कार्यकारी निर्देशक थापामगरले प्रत्येक जिल्लाका दुईवटाका दरले कक्ष रहने जनाएका छन् ।

प्रत्येक जिल्लाबाट दुईवटा कक्षलाई निःशुल्क व्यवस्था मिलाएको, बाँकी कक्ष राख्न चाहेमा पैसा तिरेर राख्नुपर्ने, उनको भनाइ छ । हरेक वर्ष समितिले यस्तो खालको मेलाको आयोजना गर्दै आइरहेको छ ।