सेमेस्टर शुल्कको विरोधमा आरआर क्याम्पसका विद्यार्थीहरु धर्नामा

काठमाडौं, फागुन ६ । सेमेस्टर प्रणालीले विद्यार्थीहरुका लागि निल्नु न उकल्नुको अवस्था सिर्जना गराएको छ । मोटो रकम तिर्नुपर्ने भएपछि कयौं विद्यार्थीहरु पढाइबाट बञ्चित हुनुपरेको छ । सेमेस्टरको पढाई सबै विद्यार्थीको पहुँचमा नभएपछि विद्यार्थीहरुले पढाइलाई निरन्तरता दिन सकेका छैनन् ।

राजधानीको प्रदर्शनीमार्गस्थित रहेको रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसका स्नातहकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुले सेमेस्टर शुल्कको विरोधमा परीक्षा शाखामा तालाबन्दी गरी धर्ना दिएका छन् । त्रिविले निर्धारण गरेको शुल्क विपरित क्याम्पस प्रशासनले मनोमानी ढंगले शुल्क बढाएको भन्दै विद्यार्थीहरुले क्याम्पस प्रशासन विरुद्ध धर्ना दिएका हुन् ।

स्नातहकोत्तर तह दोस्रो सेमेस्टरका विद्यार्थीहरुले त्रिविले निर्धारण गरेको प्रति सेमेस्टर दश हजार शुल्क लिनुपर्नेमा क्याम्पस प्रशासनले अधिक रकम लिइरहेको आरोप लगाएका छन् । पहिलो र दोस्रो सेमेस्टर गरेर आफूहरुले ७ हजार अतिरिक्त शुल्क तिर्नुपरेको उनीहरुको भनाई छ ।

आरआरमा पहिलो सेमेस्टरमा १४ हजार र दोस्रो सेमेस्टरमा १३ हजार शुल्क तिरेर पढ्दै आएको त्यहाँ अध्ययनरत विद्यार्थीहरुले बताएका छन् ।