काठमाडौँ, फागुन ७ । काँग्रेस विधिअनुसार चल्न नसकेको नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले बताएका छन् ।
प्राविधिक विद्यार्थी परिषद् केन्द्रीय समितिद्वारा प्रजातन्त्र दिवसका अवसरमा आयोजित ‘प्रजातान्त्रिक आन्दोलनमा नेपाली काँग्रेस र वर्तमान अवस्थामा प्राविधिक विद्यार्थीको भूमिका’ विषयक कार्यक्रममा पार्टी विधि, विधान अनुसार चल्न नसक्दा कमजोर हुँदै गएको बताए ।
प्रजातन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको पार्टी कमजोर हुँदै गएकाले पार्टीलाई जोगाउनका लागि नेतृत्व परिवर्तन आवश्यक रहेको उनको भनाइ छ । नेता सिंहले एकतन्त्रीय राणा शासनलाई परास्त गरेर प्रजाको शासन स्थापना गर्न काँग्रेसको ठूलो भूमिका रहेको भन्दै काँग्रेसको पुरानो विरासत जोगाउन आवश्यक रहेको बताए ।
उनले पार्टी सभापति र पदाधिकारीहरु विधान अनुसार निर्वाचित भएर आउने तर निर्वाचित भएपछि विधानलाई बेवास्ता गर्ने परिपाटी पार्टीभित्र रहेको भन्दै यसको अन्त्य गरिनु आवश्यक रहेको उल्लेख गरे । निर्वाचन भएको दुई वर्ष बित्दासमेत पार्टीभित्र पदाधिकारी, विभाग र केन्द्रीय समितिको विस्तार हुन नसक्नु दुःखद कुरा रहेको, पार्टी विधिअनुसार चल्न नसक्दा निर्वाचनमा पराजय बेहोर्नुपरेको उनको भनाइ छ ।
पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराईले प्रजातन्त्र स्थापनाको नेतृत्व गरेको पार्टीको पराजय हुनु प्रजातान्त्रिक पद्धतिकै पराजय भएको बताए । उनले भने– नेविसंघ बलियो भएमात्र काँग्रेस बलियो हुन्छ, पार्टी बलियो हुन भ्रातृसंस्था बलियो हुनुपर्छ । पार्टीभित्र सिद्धान्त र आदर्शको राजनीतिक गर्नेभन्दा पनि अवसरवादी राजनीतिले प्रश्रय पाएको उनले बताए ।