काठमाडौैँ, फागुन ७ । उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७४ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
आज दिनु भएको एक सन्देशमा उनले प्रजातन्त्र प्राप्तिका लागि भएको संघर्षमा आफ्नो जीवन उत्सर्ग गर्ने ती महान् वीर वीराङ्गनाहरुलाई स्मरण गर्दै उनीहरुप्रति श्रद्धासुमन अर्पण गरेका हुन् । सन्देशमा उनले विभिन्न कालखण्डमा भएका सशस्त्र संघर्षबाट प्राप्त ऐतिहासिक राजनीतिक उपलब्धिहरु संस्थागत हुने क्रम तथा नयाँ संविधानको पूर्ण कार्यान्वयनका क्रममा स्थानीय तह, प्रदेश र संघको निर्वाचन सम्पन्न भई सबै तहमा नयाँ सरकार गठन भइसकेको पनि उल्लेख गरेका छन् ।
उनले यससँगै धेरै वर्षदेखिको राजनीतिक संक्रमणकाल अन्त्य भई नेपालमा राजनीतिक स्थायित्व प्रारम्भ भएको र मुलुक आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गरेको बताएका छन् । उनले प्रजातन्त्र दिवसको यस गौरवपूर्ण अवसरमा राष्ट्रियता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रतालाई अझ बलियो बनाउँदै आर्थिक समृद्धिका लागि सहकार्य गर्न सबै तहका सरकार, राजनीतिक दललगायत सबै पक्षलाई अपिल समेत गरे ।