राससको ५७औँ वार्षिकोत्सवका अवसरमा राससकर्मी सम्मानित

काठमाडौँ, फागुन ७ । नेपाल पत्रकार महासंघ, रासस शाखाले राष्ट्रिय समाचार समिति (रासस)को ५७औँ वार्षिकोत्सवको अवसरमा राससमा कार्यरत विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । केन्द्रीय कार्यालय भद्रकाली प्लाजामा आयोजित विशेष समारोहकाबीच राससका पूर्व निमित्त महाप्रबन्धक एवं वरिष्ठ पत्रकार गोकुल पोखरेललाई विशेष सम्मान गरिएको छ ।

त्यसैगरी, महासंघ रासस शाखाद्वारा स्थापित ‘रासस पत्रकारिता पुरस्कार’ राससका कार्यकारी सम्पादक शीतलप्रसाद महतो र सहसम्पादक मदन गौतमलाई जनही रु १० हजार नगदसहित सम्मान गरिएको छ ।

यस वर्षको ‘उमाकान्त–गीतादेवी–चन्द्रमणि स्मृति पत्रकारिता पुरस्कार’बाट राससका बाजुरा जिल्ला समाचारदाता (स्ट्रिन्जर) प्रेम रौलेलाई नगद रु पाँच हजारसहित सम्मान गरिएको छ । सो पुरस्कार रासस राप्ती अञ्चल समाचारदाता नारायणी रजौरेले आफ्ना मातापिता र भाइका स्मृतिमा स्थापना गरेका हुन् । उक्त पुरस्कार सूचना तथा सञ्चार मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले प्रदान गरे । यस्तै, रासस कर्मचारी संघका तर्फबाट प्रदान गरिने ‘वासु रिमाल यात्री पुरस्कार’ राससका उपव्यवस्थापक प्रेम बस्नेत र रासस कार्यालय विराटनगर (प्रदेश नं १) का कार्यालय सहयोगी कृष्णप्रसाद वाग्लेलाई जनही रु पाँच हजारसहित सम्मान गरिएको छ ।

त्यस्तै राससको भौतिक सम्पत्ति संरक्षण सम्वद्र्धन र विस्तारमा अहम भूमिका निर्वाह गरेबापत (रासस तुलसीपुर कार्यालय, प्रदेश नं ५) का नारायणी रजौरे र (रासस भीमदत्तनगर कार्यालय, प्रदेश नं ७) का शेरबहादुर सिंहलाई सम्मान गरिएको छ । राससका कर्मचारीका लागि स्वास्थ्य शिविर र स्वास्थ्य बीमा कार्यक्रम ल्याउन भूमिका निर्वाह गरेबापत अन्तर्राष्ट्रिय शाखाका जीवन भण्डारीलाई कदरपत्रसहित सम्मान गरिएको छ ।

ती सबै पुरस्कार राससका अध्यक्ष कुलचन्द्र वाग्लेले प्रदान गरे । यस्तै, नेपाल राष्ट्रिय कर्मचारी संगठन रासस शाखाद्वारा स्थापित ‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’बाट राससका सहव्यवस्थापक जगतकृष्ण श्रेष्ठ र वरिष्ठ कार्यालय सहायक रजनी बज्राचार्यलाई नगद रु पाँच हजार ५०० सहित सम्मान गरियो ।