एक बर्षमै बिग्रिए ललितपुर महानगरका सडक बत्ती

ललितपुर, फागुन ८ । ललितपुर महानगरपालिकाका विभिन्न ठाउँमा राखिएका सडक बत्ती नबल्ने भएका छन् । अघिल्लो वर्षमात्रै हालिएका ९६७ वटा बत्तीमध्ये अधिकांश बिग्रिसकेको महानगरपालिकाले बताएको छ ।

महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले प्रयोगमा आएकामध्ये झण्डै ८० प्रतिशतको चिम बिग्रिसकेको बताए । स्थानीयवासीको जनसहभागितामा महानगरपालिकाले गत वर्ष चिम हालेको थियो । कम क्षमताको ब्याट्रीका कारण चिम चाँडो बिग्रिएको जनाउँदै स्थानीयवासीको गुनासो आएपछि म आफैँ पनि रातको समयमा गएर सडकका बत्ती हेर्दै आएको छु उनले भने ।

महानगरपालिकाका सडकमा बत्ती जडान गर्नका लागि धेरै संस्था इच्छुक भएको प्रमुख महर्जनले बताएका छन् । महानगरपालिकाले भने गुणस्तरमा जोड दिएको छ । मैले काम गर्न चाहने संस्थालाई रातमा सबै बत्ती बाल्नुपर्ने र बत्ती चहकिलो हुनुपर्ने सर्त राखेको छु– महर्जनले भने । काम गर्न चाहने संस्थासंग गुणस्तरको कुरा गरेपछि काम पछि हच्किदै आएका छन् ।

सडक बत्ती नहुँदा रातको समयमा सडक दुर्घटना हुने भन्दै ट्राफिक प्रहरीले पनि बत्ती जडान गर्न महानगरपालिकालाई अनुरोध गर्दै आएको छ ।