विद्यालय शिक्षाको विकासलाई जोड दिनुपर्ने : राष्ट्रपति

उदयपुर, फागुन ८ । समृद्ध र आधुनिक विकसित नेपाल बनाउनका लागि विद्यालय शिक्षाको विकासलाई जोड दिनुपर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छिन् ।

कटारी बजारस्थित त्रिवेणी मावि स्थापनाको ५० औँ वर्ष पुगेका अवसरमा आयोजना गरिएको स्वर्ण महोत्सवको समापनका अवसरमा राष्ट्रपति भण्डारीले दक्ष जनशक्तिबाट मात्र कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र उद्योग क्षेत्रमा तीव्र गतिमा विकास हुन सक्ने बताइन् ।

विद्यालयमा स्थानीय स्तरबाटै प्राविधिक शिक्षा दिन सकेमा आगामी दिनमा नेपालबाट प्राविधिक शिक्षाका लागि अध्ययन गर्न जाने ठूलो जनशक्ति नियन्त्रण हुने राष्ट्रपति भण्डारीको भनाइ छ । कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले त्रिवेणी माविलाई प्रदेशकै नमूना विद्यालय बनाउन आजैदेखि पहल गर्ने घोषणा गरे ।

वरिष्ठ अधिवक्ता शम्भु थापा, विद्यालयका पूर्वसंस्थापक बलबहादुर राउत र स्वर्ण महोत्सव समितिका सदस्य सचिव तथा विद्यालयका प्राचार्य बालकृष्ण कार्कीले पनि आफ्ना विचार राखेका थिए ।

उक्त अवसरमा विद्यालयको स्मारिकाको विमोचन पनि गरिएको थियो । स्वर्ण महोत्सव यही फागुन १ गते शुरु भई मंगलबार सम्पन्न भएको हो ।