काठमाडौँ, फागुन ९ । खानेपानी तथा ढल निकास विभाग अन्तर्गत सञ्चालित सहलगानीका एकाउन्न वटा आयोजनामध्ये तीन वटा आयोजना सम्पन्न भएको छ ।
रु १० करोडभन्दा बढी लागतमा निर्माण गरिएका रुपन्देहीस्थित शंकरनगर खानेपानी आयोजना, आनन्दवन शंकरनगर खानेपानी आयोजना तथा चेपेखोला पालुङ्टार खानेपानी आयोजना पुरा भएका हुन् ।
विभागका सहसचिव एवं सहलगानी आयोजना शाखाका प्रमुख विद्यानाथ भट्टराईले ती आयोजनामा ७० प्रतिशत सरकार र ३० प्रतिशत उपभोक्ताको लगानी भएको बताएका छन् । अठ्ठाइस जिल्लामा ४८ योजना निर्माण हुने क्रममा रहेकामा २३ वटाको काम हुँदै, १० वटा शुरु हुने क्रममा रहेको र बाँकी १५ वटा अध्ययनको अन्तिमचरणमा पुगेको उनले बताए ।
ती आयोजनामध्ये ११ वटा यो वर्षमा सम्पन्न हुने विभागले बताएको छ । आर्थिक वर्ष २०६९÷७० बाट सहलगानीका खानेपानी आयोजना सञ्चालन गरिएकामा तीन वर्षभित्र सबै आयोजना सम्पन्न हुने गरी काम भइरहेको जनाइएको छ ।
ती आयोजनामा उपभोक्ताले १० प्रतिशत रकम तिनुपर्ने २० प्रतिशत बराबरको जनश्रम ब्यहोर्नुपर्ने भएकाले उक्त आयोजना भरपर्दो हुँदै गएको विभागले बताएको छ ।