कांग्रेसका भ्रातृ संगठनले राष्ट्रपतिको कदमप्रति दिए सडक आन्दोलनको चेतावनी

काठमाडौं, फागुन ९ । राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमविरुद्ध नेपाली कांग्रेसका भ्रातृ संगठनहरुले संघर्ष गर्ने उद्घोष गरेका छन् ।

कांग्रेसका आधा दर्जन भ्रातृ संगठनहरुले संविधान विपरित सरकारपिच्छे फरक–फरक व्यवहार गरेर राष्ट्रपति भण्डारी सक्रिय भूमिकातर्फ उन्मुख भएको आरोप लगाउँदै आन्दोलन गर्ने चेतावनी दिएका हुन् । नेपाल महिला संघका अध्यक्ष उमा रेग्मी, तेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर, नेपाल दलित संघका कार्यवाहक अध्यक्ष शम्भु हजारा पासवान, नेपाल ट्रेड यूनियन कांग्रेसका अध्यक्ष खिलानाथ दाहाल र नेपाल प्रेस यूनियनका अध्यक्ष बद्री सिग्देलले बुधबार संयुक्त पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएका हुन् ।

६ वटै भ्रातृ संगठनहरुले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती सरकारले राष्ट्रियसभा सदस्यका लागि सिफारिस गरेका व्यक्तिहरुको नाम राष्ट्रपति कार्यालयले स्वीकृत नगरे राजनीतिक र कानुनी लडाइँ लड्ने चेतावनी दिएका छन् ।

राष्ट्रपति भण्डारीले संविधान विपरीत गएर पूर्ववर्ती सरकारको निर्णय खारेज गरेर सक्रिय भूमिकातर्फ उन्मुख भएको पत्रकार सम्मेलनमा महिला संघकी अध्यक्ष रेग्मीले दावी गरिन् । उनले राष्ट्रपति कार्यालयले राष्ट्रियसभा सदस्य मनोनयनका लागि गरिएको निर्णय फिर्ता लिनुपर्ने बताएकी छिन् । ‘सम्माननीय राष्ट्रपतिज्यू एक्टिभ भएर संविधान बाहिर जाँदै उनले भनिन् आफ्नो स्टेप फिर्ता लिनुपर्छ । अन्यथा हामी संविधानले दिएको हक–अधिकार प्राप्त गर्नका लागि संडक संघर्षमा जान्छौं,’’ उनले भनिन् । उनले संविधानले निर्दिष्ट गरे अनुरुप राष्ट्रपति नचले त्यसलाई रोक्न कांग्रेसका भ्रातृ संगठनहरु जेसुकै गर्नका लागि पनि तयार रहेको चेतावनी दिएकी छिन् ।

उक्त पत्रकार सम्मेलनमा नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले राष्ट्रपतिको पछिल्लो कदमले नेपालमा कम्युनिष्ट शासनको सुरुवात भइसकेको आभाष दिलाएको बताए । उनले भने हिजो निर्वाचनमा जाँदै गर्दा कांग्रेसले कम्युनिष्टहरुले चुनाव जिते मुलुकमा अधिनायकवाद आउँछ भन्दा जनता र मिडियाले पत्याएनन् । तर एमाले–माओवादीको सरकार गठन भएलगत्तै मुलुकमा अधिनायकवाद लाद्ने प्रयास राष्ट्रपतिबाट भएको उनको भनाइ छ । राष्ट्रपतिले जनतासँग माफी मागेर राष्ट्रियसभा सदस्य मनोनयनका लागि गरेको निर्णय सच्याउनुपर्ने माग गर्दै अध्यक्ष महरले निर्णय नसच्याइए हरेक किसिमका आन्दोलन गर्न पछि नपर्ने चेतावनी दिए ।

तरुण दलका अध्यक्ष बस्नेतले चुनाव अघि कांग्रेसले भनेझैं मुलुकमा कम्युनिष्ट पार्टीहरुले अधिनायकवादको झल्को दिइसकेको दावी गरे । ‘‘एमाले अध्यक्ष केपी ओली संसदीय अभ्यास विपरित प्रधानमन्त्री बनेका छन् उनले भने, ‘‘सांसदको सपथ नलिएरै, संसदीय दलको नेता नचुनिएरै प्रधानमन्त्री हुने व्यवस्था कम्युनिष्ट शासनमा मात्रै हुन्छ ।’’ राष्ट्रपति भण्डारीको पछिल्लो कदम विरुद्ध कांग्रेसले कानुनी लडाइँ लड्ने र भ्रातृ संगठनहरुले सडक संघर्ष गर्ने अध्यक्ष बस्नेतले बताए ।

ट्रेड यूनियन कांग्रेसका अध्यक्ष दाहालले राष्ट्रिपति भण्डारीको पछिल्लो कदमको निन्दा गर्दै निर्णय सच्चिनुपर्ने कुरामा जोड दिए । ‘‘यो राष्ट्रपति भण्डारीले सकृय कदम चाल्न गरेको प्रयासको विरोधको कास्टिङ मात्रै हो । निर्णय फिर्ता नभए हामी संविधानको रक्षाका लागि जेसुकै पनि गर्न तयार छौं,’’ उनले भने ।

देउवा नेतृत्वको सरकारले राष्ट्रयसभाका लागि प्रस्ताव गरेका तीन जनाको नाम हटाएर सरकारले गरेको सिफारिस राष्ट्रपति भण्डारीले पारित गरे पछि कांग्रेस र उसका भ्रातृ संगठनहरुले असन्तुष्टि जनाएका छन्् ।