‘आर्थिक सशक्तीकरणका लागि महिलालाई उद्यमशीलताको अवसर दिनुपर्ने’

नेपालगञ्ज, फागुन १० । महिला उद्यमी संघ, बाँकेको आयोजनामा आजबाट व्यापार मेला सञ्चालन शुरु गरिएको छ ।

नेपालगञ्ज नगर उपप्रमुख उमा थापा मगरले मेलाको उद्घाटन गर्दै महिला वर्गको आर्थिक सशक्तीकरणका लागि उनीहरुलाई उद्यमशीलताको अवसर दिइनुपर्ने कुरामा जोड दिएकी छिन् ।

बाँके जिल्लाका महिला उद्यमीले उत्पादन गरेका वस्तुकोे प्रचारप्रसार र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित मेला फागुन १४ गतेसम्म सञ्चालन हुने बताइएको छ ।

मेलामा महिला उद्यमी हस्तकला, खाद्यान्न सामग्री, पहिरनलगायतका ४० कक्ष राखिएको संघका महासचिव सावित्रा बस्नेतले जानकारी दिएकी छिन् । मेला अवधिभर करिब चार लाखको कारोबार हुने अनुमान लगाइएको छ ।