फागुन ११ । काँग्रेस अब संगठित भएर अघि बढ्नुको कुनै विकल्प भएको नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले बताएका छन् ।
विहिबार साँझ लमजुङको उदिपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । नेपाली काँग्रेसभित्र विभिन्न असन्तुष्टि सिर्जना भएपनि सबैको चासो काँग्रेसको सुदृढीकरणको लागि भएको उनको भनाइ थियो ।
प्रजातन्त्र सेनानी एवं उदिपुरस्थित जनकल्याण माविका संस्थापक स्व रोहिणीराज त्रिपाठीको शालिक अनावरण गर्न लमजुङ पुगेका नेता कोइरालाले काँग्रेसलाई फर्केर हेर्दा धेरै योद्धा रहेको भन्दै संगठनलाई पुनःजागरण गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।
समानुपातिकको मतको आधारमा पनि काँग्रेसलाई विश्लेषण गर्नुपर्ने बताउँदै उनले गिरिजाबाबुले भनेजस्तै काँग्रेसलाई संगठित र पुरानै स्तरमा पुर्याउने दाबीसमेत गरे । काँग्रेसलाई जनमत नभएको हैन, जनताको चाहना काँग्रेसभित्रको सुदृढीकरण हो, अब नेतृत्वले यसलाई मनन गर्नुपर्दछ डा कोइरालाले भने ।
स्व त्रिपाठीको पहलमा प्राविबाट स्थापना भएको सो विद्यालयमा अहिले कक्षा ११ सम्म पठनपाठन हुने गर्दछ । व्यावसायिक र प्राविधिक शिक्षा सञ्चालनका लागि विद्यालयमा महायज्ञ सञ्चालन गरिएको छ ।