विधान परिमार्जनपछि मात्र नेतृत्व चयन हुने : सिंह

सिन्धुली, फागुन ११ । नेपाली काँग्रेस पार्टी संसदीय दलको विधान परिमार्जन भएपछि मात्र नेतृत्व चयन हुने नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले बताएका छन् ।

काँग्रेस पार्टी कार्यालयमा नेपाल प्रेस युनियन सिन्धुलीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ‘भोलि हुने संसदीय दलको बैठकबाट विधान परिमार्जन गर्ने र त्यसपछि मात्र संसदीय दलको नेतृत्व चयन हुने बताए ।

अहिलेसम्म संसदीय दलको नेतामा कसैले दाबी नगरेको अवस्थामा आफू संसदीय दलको नेता हुन योग्य भएको जनाउँदै पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठक नियमित गर्न नसकेका कारण अब संसदीय दलको नेतामा उहाँ हुन सक्नुहुन्न, केन्द्रीय सदस्य सिंहले भने ।

पार्टी सभापति देउवाले संसदीय दलको नेतामा दाबी गरेमा आफू प्रतिस्पर्धामा उत्रिएर संसदीय दलको नेता हुने दाबी गर्दै उनले परम्परागत रुपमा नै संसदीय दलको नेता बनाए यो सिङ्गो पार्टीको हितमा नहुने बताए ।

उनले काँग्रेस महामन्त्री कोइरालाले सर्वसहमतिबाट भए मात्र संसदीय दलको नेता बन्न इच्छा व्यक्त गरेको अवस्थामा सर्वसहमति हुन नसक्ने देखिएको बताए ।

नेता सिंहले सर्वसहमतिको वातावरण आएमा आफू त्यसमा सहमत हुने र सर्वसहमत नभएमा संसदीय दलको नेता परिवर्तन गर्नु पर्ने विचार राखे ।