सडक पूर्वाधारलाई व्यवस्थित गरे पर्यटक बढ्ने

लाटागुडी (भारत), २९ जेठ । नेपाल पर्यटन बोर्डको आयोजना आयोजित प्रवद्र्धनात्मक कार्यक्रम अन्तर्गत एवम् पोखरा पर्यटन परिषद्को संयोजनमा आइतबार भारतको लाटागुडीमा आयोजित अन्तक्र्रियामा भारतका पर्यटन व्यवसायीले नेपालको पर्यटकीय विकासमा तत्काल सुधार गर्नुपर्ने कुरामा जोड दिएका छन् ।

उक्त कार्यक्रममा भारतीय पर्यटन व्यवसायीले नेपाल प्रवेश गर्ने सीमानाकादेखि नै देखिने अव्यस्थित सडककका कारण पर्यटकहरुले भोग्नुपरेको दुखलाई मध्यनजर गर्दै भारतका पर्यटन व्यवसायीले यस्तो खालको सुझाव दिएका हुन् । सो अवसरमा नेपालको प्राकृतिक सौन्दर्य र जैविक विविधताको संरक्षणबाट नै पर्यटन विकास गर्न सकिने सम्भाव्यता औँल्याइएको थियो । कार्यक्रममा लाटागुडी रिसोर्ट एसोसिएसन, भारतका अध्यक्ष बरुण सरकारले काँकडभित्तादेखि नै पर्यटकले सडकको दूरावस्थाका कारण अनेकौ दुखःकष्ट अनि समस्या भोग्नुपरेको जटिल अवस्थाप्रति गम्भीर बन्न आवश्यक रहेको बताएका थिए ।

अव्यस्थित सडक तथा बाटोमा पर्यटकले खेप्नु परेको अनावश्यक समस्याका कारण चाहेर पनि आशा अनुरुप पर्यटक नेपाल पठाउन मुस्किल भएको एसोसिएसनका महासचिव दीव्येन्द्र देवले उल्लेख गरे । पर्यापर्यटनको संरक्षण र विकासका माध्यमबाट नेपालमा पर्यटन क्षेत्रको विकास गर्न सरोकारवाला निकायले चासो राखे धेरै सम्भावना रहेको बताए । लाटागुडी जस्तै नेपालमा चितवन, पोखरा लगायतका स्थान पर्यापर्यटनका सम्भावना बोकेका राम्रा स्थल हुन् । नेपाल पर्यटन बोर्ड, क्षेत्रीय कार्यालय पोखराका वरिष्ठ अधिकृत सूर्य थपलियाले लाटागुडीले पर्यापर्यटनकै माध्यमबाट गरेको पर्यटन विकास नेपालका चितवन लगायतका स्थानका लागि अनुकरणीय बन्न सक्ने धारणा व्यक्त गरे ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष केदार शर्माले पर्यटनका दृष्टिले नेपाल विविध सम्भावनाले युक्त राष्ट्र भएको उल्लेख गर्दै पर्यटनको विकासका लागि उत्तरपूर्वी भारतसहित भारतका विभिन्न ठाउँका पर्यटन व्यवसायीसँग साझेदारी गर्ने बताए । भारतीय पर्यटन व्यवसायीले नेपालका सडकको दूरावस्था लगायतका विषयमा देखाएको चासो अत्यन्त गम्भीर भएको बताउँदै यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण हुनु आवश्यक रहेको पोखरा पर्यटन परिषद्का उपाध्यक्ष भरतराज पराजुलीले उल्लेख गरे ।

नेपालमा प्रकृति प्रदत्त विभिन्न सम्पदा पूर्वाधार विकासको अभावका कारण ओझेलमा परेको प्रष्ट पार्दै सडकका कारण नै पर्यटकको आगमनका कमी आएकाजस्ता कुरालाई गम्भीरताका साथ सरकारी निकायबाट मनन गर्नु पर्ने र तत्काल सडक पूर्वाधारलाई व्यवस्थित गर्न आवश्यक रहेको बताएका थिए ।