आर्थिक सर्वेक्षण वैशाख १ बाट शुरु हुँदै

काठमाडौँ, फागुन ११ । अगामी वैशाख १ गतेदेखि राष्ट्रिय आर्थिक सर्वेक्षण शुरु हुने भएको छ । केन्द्रीय तथ्याङ्क विभागले सञ्चालन गर्ने सो सर्वेक्षणको मुख्य ध्येय केन्द्र, प्रदेश तथा स्थानीय तहको विकास योजना तर्जुमा तथा नीति तयार गर्न आवश्यक पर्ने तथ्याङ्क संकलन गर्नुरहेको छ ।

यसका लागि विभागले ७७ जिल्लामा आर्थिक गणना कार्यालय स्थापना गर्ने जनाएको छ । यसैबीच गुणस्तरीय आर्थिक तथ्याङ्क उत्पादनका लागि मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम आजदेखि शुरु गरिएको छ । एक हप्ते उक्त प्रशिक्षणमा आर्थिक गणनाका प्राविधिक तथा प्रशासनिक पक्षका बारेमा जानकारी गराउने कार्यक्रम रहेको विभागले बताएको छ ।

आर्थिक गणनामा नेपालमा अवस्थित व्यावसायिक आर्थिक एकाइको ठेगाना, मुख्य क्रियाकलाप, रोजगारी, पूँजी लगानी, ऋण पहुँचलगायतका विवरण संकलन गरिने विभागका महानिर्देशक सुमनराज अर्यालले जानकारी गराए । उनका अनुसार गणना कागजी फारामका साथै अनलाइनका माध्यमबाट उत्तरदाताले आफ्नो व्यवसायको विवरण आफैँ भर्न सक्ने छन् ।