आगलागी हुँदा पाँच लाख बराबरको क्षति

इटहरी, फागुन ११ । धरान उपमहानगरपालिका १८ स्थित घोपा क्याम्प अगाडि आन्टी होटलमा आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको छ ।

डम्बरबहादुर लिम्बूको घरमा होटल सञ्चालन गर्दै आएका शान्त मगरको होटलमा रहेको खाना पकाउने एलपी ग्यास सिलिण्डर विस्फोट हुँदा आज बिहान आगलागी भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक रामेश्वर पौडेलले बताए ।

सो आगलागीमा परी अमृता लिम्बूु घाइते भएको र उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको पनि पौडेलले जानकारी गराए । आगो निभाउने क्रममा उनको बायाँ हात जलेको छ । वारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगलागीे नियन्त्रणमा लिएको थियो ।

आगलागी हुँदा तीन थान ग्यास सिलिण्डर विस्फोट भएको पनि प्रहरी नायब उपरीक्षक पौडेलले बताए । आगलागीमा परी छिमेकी टेकबहादुर सुन्दासको घरमा समेत नोक्सानी भएको थियो ।