काठमाडौँ, फागुन ११ । हिमाली जिल्लाका कृषि उत्पादनको प्रवद्र्धन गर्ने हेतुले भृकुटीमण्डपमा आजदेखि तेस्रो राष्ट्रिय हिमाली कृषि व्यवसाय प्रवद्र्धन–२०७४ शुरु भएको छ ।
पशुपक्षी विकास मन्त्रालय र उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार (हिमाली) आयोजनाले थालेको उक्त प्रदर्शनी उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा उद्घाटन गरिएको छ । प्रदर्शनीमा संखुवासभा, सोलुखुम्बु, दोलखा, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु र हुम्लामा उत्पादन भएका चिज, छुर्पी, राडीपाखी, तरकारी बीउ, केशर, तोरा जुस, कालो मसुरो, जुम्ली मार्सी चामल, हिमाली चिया, सिलाजित, सिमी, स्याउको चाना, ओखर, चिराइतो, अलैँचीलगायत बिक्रीमा राखिएका छन् ।
हिमाली वस्तुको उपयोगमा वृद्धि एवं व्यवसायमा लगानी बढोत्तरी गर्ने अभिप्रायले शुरु थालिएको उक्त प्रदर्शनीमा ७८ बिक्री कक्ष रहेका छन् । गतवर्ष प्रदर्शनीमा रु दुई करोड ५० लाखको कारोबार भएको थियो भने यसवर्ष रु चार करोडको कारोबार हुने आयोजकको अपेक्षा छ ।
उच्च पहाडी १० जिल्लाका नागरिकको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले सन् २०११ देखि थालिएको सो हिमाली आयोजना सन् २०१८ सम्म सञ्चालन हुनेछ । आयोजना सञ्चालनका लागि एशियाली विकास बैंकको दुई करोड डलर सहयोग प्राप्त छ भने आयोजनाको कूल लगानी तीन करोड डलर रहेको छ ।
सन् २०१८ सम्म एशियाली विकास बैंकको ६६ प्रतिशत, नेपाल सरकारको १५ प्रतिशत र आयोजनमा सहभागी हुने व्यवसायीको १९ प्रतिशत लगानी हुने अपेक्षा गरिएको छ । कार्यक्रमको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले कृषि अर्थतन्त्र ओरालो लागेकामा चिन्ता व्यक्त गरेका छन् ।
उपराष्ट्रपति पुनले ६७ प्रतिशत जनता कृषिमा आत्मनिर्भर भए पनि आयात प्रतिस्थापन नहुनुले कृषिमा परनिर्भरता बढ्दै गएको बताए ।