दुई वर्षमा पनि बन्न सकेन नहर

भीमदत्तनगर, फागुन १३ । नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको २२ वर्ष बितिसक्दा पनि सन्धि अनुसार भारतले बनाउनुपर्ने एक हजार २०० मिटर नहर निर्माण हुन सकेको छैन ।

कञ्चनपुरको भीमदत्तनगरपालिका–९ स्थित नेपालको सीमा क्षेत्रमा पर्ने मटेनासम्म एक हजार २०० मिटर लामो पुल नहर निर्माणको काम भारतले गर्नुपर्ने सन् १९९६ को एकीकृत सन्धिमा उल्लेख छ । महाकाली सन्धि अनुसार भारतले टनकपुरदेखि मटेनासम्म एक हजार २०० मिटर नहर बनाइदिनुपर्ने हो, महाकाली सिँचाइ आयोजना तेस्रोचरणको कार्यालय भीमदत्तनगरका सिनियर डिभिजनल इन्जिनियर वीरसिंह धामीले भने । तर भारतले आश्वासन दिए पनि निर्माणका लागि कदम चालेको छैन ।

सरकारले १३ किलोमिटर नहर बनाउँदा भारतले दुई महिनामा सकिने एक हजार २०० मिटर नहर निर्माणका लागि चासो नदिएको उनको भनाइ छ । दुवै देशका जलस्रोतका विषयमा बैठक बस्दा भारतले तत्काल बनाउने कुरा त गर्छ, तर नहर निर्माणका सर्वेसम्म गरेको देखिदैन धामीले भने । गत माघ २९ गते सन्धि भएको २२ वर्ष पूरा भयो ।

महाकाली सिँचाइ तेस्रो चरणअन्तर्गत कैलालीको मालाखेतीसम्म १५१ किलोमिटर मूल नहर आगामी सन् २०२२ सम्म पूरा गरिसक्ने स्वीकृत लक्ष्य रहे पनि सिँचाइ नहर निर्माणको काम कछुवागतिमा अघि बढिरहेको छ । आर्थिक वर्ष २०६३/६४ देखि सिँचाइको नहर निर्माणको कार्य थालिएको थियो । हालसम्म करिब १३ किलोमिटर नहर मात्रै निर्माण भएको छ ।

धामीले भने लक्ष्यअनुसार निर्माणको काम निकै कम गतिमा भयो, रणनीतिक महत्वको आयोजनामा सबैको सहयोग आवश्यक पर्छ । एक सय ५१ किलोमिटर लामो नहर निर्माणका लागि रु २७ अर्ब लागत आँकलन गरिएको छ । करिब एक दशक बित्दा एक अर्ब ६० करोड मात्रै खर्च भएको धामीले जानकारी दिए । यसमध्ये रु ६० करोड जग्गा मुआब्जामै खर्च भएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएका बेला सिँचाइका लागि दिने भनिएको सहयोगमध्ये रु १६ अर्ब भारतीय एक्जिट बैंकले दिने भनिए पनि उक्त रकम समेत हालसम्म आएको छैन । अहिलेसम्म स्वदेशी लगानीमै नहर निर्माण हुँदैछ, केही दिनअघि मात्रै थप १५ किलोमिटर नहर निर्माणको ठेक्का भएर मुआब्जा बाँड्ने प्रक्रिया अघि बढेको छ धामीले भने ।

सो नहर निर्माणका लागि तीन वटा समूहमा ठेक्का दिइएको छ भने यसअघि निर्माण भएको नहर हस्तान्तरणको चरणमा पुगेको छ । तेह्र किलोमिटर नहर क्षेत्रमा बनेको मूल नहरसँगै शाखा नहर निर्माणका लागि पनि हामीले सबै प्रक्रिया तयार गरेका छौं, उनले भने– अब सीमाक्षेत्रमा बन्ने नहरका लागि पनि भारतले ढिलाइ गर्नहुँदैन ।

तेह्र दशमलव ६ मिटर चौडाइको मूल नहर लक्ष्य अनुसारको समयमै पूरा हुने सम्भावना भने कमै देखिएको छ । अबको तीन वर्षभित्र शुक्लाफाँटा नगरपालिकाको उत्तरमा रहेको फूलेली गाउँसम्म मूल नहर पुग्ने धामीको भनाइ छ ।

आयोजना अन्तर्गतको नहर निर्माण भए कैलालीको मालाखेती र कञ्चनपुरको पूरै क्षेत्रफल गरी ३३ हजार ५२० हेक्टर जमिनमा सिँचाइ हुनेछ । पहिलो र दोस्रो चरणबाट कञ्चनपुरमा ११ हजार ७ सय हेक्टर जमिनमा सिञ्चित भएको छ ।