बाटो मर्मत नहुँदा सबैलाई सास्ती

धुलिखेल, फागुन १४ । अरनिको राजमार्ग अन्तर्गत धुलिखेलदेखि खावा सडकखण्डको मर्मत हुन नसक्दा सवारी चालक, यात्रु तथा स्थानीय बासिन्दा मर्कामा परेका छन् ।

उक्त सडक निर्माणको कार्यमा सम्बन्धित निकायको समयमा नै ध्यान नजादा सवारी चालक, यात्रु तथा स्थानीय बासिन्दाले सास्ती ब्यहोर्दै आइरहेका छन् । उक्त सडक मर्मतका लागि भनेर बजेट छुट्याए पनि काममा ढिलाइ भएपछि सो राजमार्ग भएर चल्ने सवारीसाधन, यात्रु र सो क्षेत्र आसपासका स्थानीय बासिन्दा मर्कामा पर्दै आइरहेका छन् ।

स्थानीय बासिन्दा राधा ठकुरीले सडक बेलैमा मर्मत कार्य सम्पन्न नगर्दा यहाँ चलेको सवारीसाधनको धुलोबाट हैरानी ब्यहोर्नु परेको बताइन् । सडक समयमै बनाउँदैनन्, लुगा धोएर सुकायो भने पनि धुलै धुलो हुन्छ उनले भनिन् ।
समयमा नै काम सम्पन्न नहुँदा आफूहरूले निकै समस्या भोगिरहेको मोटरसाइकल चालक रेशम लामाको भनाइ छ ।

उनले सरकार र ठेकेदारबीच मिलेर समयमा नै काम सक्नुुपर्ने उल्लेख गर्दै आफूहरू सोही बाटो हिँड्दा बर्सादी ओढेर हिँड्नु परेको गुनासो गरे । अर्का सवारी चालक सिन्धुपाल्चोक मेलम्चीका इन्द्रबहादुर थापाले सोही बाटो भएर कैयौँ बिरामी ओसारपसार गर्नुपर्नेेदेखि गाउँगाउँबाट सोही बाटो आवतजावत गर्नुपर्ने भएकाले बाटो समयमा नै नबन्नु दुःखको कुरा भएको बताए ।

उनले सरकारको लापरबाही भएको भन्दै स्थानीय बासिन्दाले जागरुक भएर आवाज उठाउनुपर्ने बताए । सो सडक खण्ड अन्तर्गत धुलिखेलदेखि पाँचखालसम्मको १४ किलोमिटर बाटो मर्मतको लागि द कञ्चनजंगा कन्स्ट्रक्सन र मोतिदान जेबी कन्स्ट्रक्सनसँग संयुक्तरुपमा गत २०७३ जेठ २८ गते सम्झौता भएको थियो ।

जसमा खाबादेखि पाँचखालसम्मको ११ किलोमिटर सडक मर्मत भइसकेको भए पनि खाबादेखि धुलिखेलसम्मका सडक भने अझै काम नसक्दा यात्रु तथा स्थानीय बासिन्दाले समस्या भोगेका हुन् । भक्तपुर सडक डिभिजन कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारीले धुलिखेलदेखि खाबासम्मको सडक मर्मतका लागि पुनःनिर्माण प्राधिकरणले समयमा नै उपलब्ध गराउनु पर्ने रकम निकासा नगरिदिँदा ठेकेदार कम्पनीले काम नगरिदिएको बताए ।

उक्त राजमार्ग भएर दैनिक पाँच हजारको हाराहारीमा सवारीसाधन चल्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाले बताएको छ । सोही राजमार्ग हुँदै दोलखा, रामेछाप, सिन्धुपाल्चोक जिल्लामा सवारीसाधन चल्ने गरेको छ ।