कुष्ठरोगका बिरामीको संख्या बढ्दै

नवलपरासी, फागुन १५ । कुष्ठरोग उन्मूलनका लागि नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट –सुस्ता पूर्व ) जिल्लामा गरिएको ‘सर्च अभियान’ मा कुष्ठरोगका नयाँ ८८ बिरामी भेटिएका छन् ।

खोजी अभियानबाट नवलपुर क्षेत्रमा १६ र परासी क्षेत्रमा ७२ बिरामी फेला परेका हुन् । नवलपुर र परासी क्षेत्रका १२ स्थानीय तहमा कुष्ठरोगका बिरामी पत्ता लगाउन सञ्चालन गरिएको अभियानबाट कुष्ठरोगका नयाँ बिरामी पहिचान भएको मध्यविन्दु सामुदायिक स्मृति अस्पताल डण्डाका कार्यक्रम प्रमुख रामराज पण्डितले बताए ।

दामियन फाउन्डेशनको सहयोगमा स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीसहितको विशेषज्ञ टोलीले घरघरमा पुगेर शङ्कास्पद बिरामीकोे पहिचान गरी परीक्षण गरिएको थियो ।

नेपाललाई सन् २०१० मा नै कुष्ठरोग उन्मूलन भएको भनेर घोषणा गरिएको भए पनि नवलपरासीसहित रुपन्देही, कपिलवस्तु, कैलालीलगायत जिल्लामा कुष्ठरोग भएका बिरामीको दर बढी पाइएकाले खोजी अभियान सञ्चालन गरिएको थियो ।

नवलपरासीमा गत वर्ष मात्र ७७ नयाँ कुष्ठरोगी भेटिएकामा दुई जना अङ्गभङ्ग र चार बालबालिका रहेको जनाइएको छ ।