नेपाल आज जिम्बाबेसँग भिड्दै

काठमाडौँ, फागुन २० । नेपालले आज एक दिवसीय विश्वकप छनोटका लागि पहिलो खेल जिम्बाबेसँग खेल्दैछ । नेपाली समय अनुसार दिउँसो सवा १ बजे जिम्बाबेको घरेलु मैदानमा खेल शुरु हुनेछ ।

आज हुने खेलले नेपालको दिशा निर्धारण गर्ने भएकाले नेपाललाई थप चुनौति देखा परेको छ । जिम्बाबेलाई हराउन सके नेपाललाई अघि बढ्न मार्गप्रशस्त हुनेछ । तर नतिजा जिम्बाबेको पक्षमा गएमा विश्वकप छनोटमा नेपालको यात्रा सहज हुनेछैन । टेस्टमा नेपाली राष्ट्रिय टिमको भिडन्त यो दोस्रो पटक हो ।

यसअघि टी–२० विश्वकपमा नेपालले बंगलादेश विरुद्ध खेलेको थियो । गत महिना नामिबियामा भएको डिभिजन–२ का खेलहरूमा नेपालले अत्यन्त कठिन परिस्थितिबाट नाटकीय जित निकाल्दै विश्वकप छनोट खेल्ने मौका पाएको हो ।

सन् २०१९ को विश्वकप क्रिकेटमा १० देशमात्र सहभागी हुने हुँदा नेपाल पनि सहभागी हुने सम्भावना निकै कम देखिन्छ । तर झिनै भए पनि कुनै अभूतपूर्व नतिजाले नेपाललाई विश्वकपमा पुर्याउन सक्छ । पारस खड्काको कप्तानीमा रहेको नेपाली टोलीमा अघिल्लो महिना डिभिजन टुमा खेलेका अधिकांश खेलाडीले स्थान बनाएका छन् ।

नेपाली टोलीको उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, ललित भण्डारी, वसन्त रेग्मी, सोम्पाल कामी, शक्ति गौचन, अनिलकुमार साह, मोहमद अरिफ, रोहितकुमार पौडेल, करण केसी, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐर र दिपी नाथ छन् ।