शुक्लाफाँटामा बाघको तस्वीर संकलन गर्ने कार्य शुरु

कञ्चनपुर, फागुन २० । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघका तस्वीर संकलन गर्ने कार्य थालिएको छ ।
स्वचालित क्यामराबाट तस्वीर संकलन गर्ने कार्य थालिएको हो ।

कम्प्यूटरमा रहेको सफ्टवेयरको सहायताले बाघका संकलित फोटो हेरेर विश्लेषण गर्ने काम थालिएको निकुञ्जका सहायक संरक्षण अधिकृत गोपालबहादुर घिमिरेले जनाएका छन् । पाटे बाघको एउटा फोटो अर्को फोटोसँग मिलाएर हेरिएको उनको भनाइ छ । डडेल्धुराको जोगबुढा र चुरे क्षेत्रमा समेत स्वचालित क्यामरामा बाघ देखापरेको उनले बताएका छन् ।

बाघको संख्या कति छ भन्नेबारे फोटो विश्लेषण पछि मात्रै थाहा हुने घिमिरेले बताए । विगतका वर्षहरुको तुलनामा यस बर्ष बाघको संख्यामा वृद्धि भएको उनको भनाइ छ । घिमिरेले भने– फोटो विश्लेषण पछि मात्र संख्या यकिन हुनेछ । शुक्लाफाँटामा गत माघ २० गतेदेखि क्यामरा ट्र्यापिङको सहायताले बाघ गणना थालिएको थियो ।

बाघ गणनाका लागि चारवटा हात्तीसहित ९० जना प्राविधिकको टोली परिचालन गरिएको थियो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा चार, जिल्ला वन कार्यालयमा चार, जोगबुढा क्षेत्रमा तीन समूह गरी कूल ११ समूहले एकैसाथ बाघको गणना गरेको घिमिरेको भनाइ छ ।

स्वचालित ६० जोर क्यामरा, सन्टो कम्पास, रेञ्ज, फाइण्डर र जिपिएस उपकरणको प्रयोग गरी बाघ गणना गरिएको थियो । कूल पाँच हजार ५०० किलोमिटर क्षेत्रभित्र बाघ गणना गरिएको थियो ।

डडेल्धुराको जोगबुढा क्षेत्रमा निकुञ्जले बाघ गणना कार्य पहिलो पटक गरेको हो । सन् २००९ मा शुक्लाफाँटामा बाघको संख्या १० थियो भने सन् २०१३ मा बढेर १७ पुगेको थियो ।