रसुवा, फागुन २० । गत माघको अन्तिम साताबाट बन्द भएको ढुवानी सेवा शुरु भए पछि चिनियाँ सामग्रीहरु नेपाल भित्रिन थालेका छन् ।
नेपाल–चीनबीच उत्तरी नाका रसुवागढीबाट नेपाल भित्र्याइने चिनियाँ सामग्री केरुङमा लोड हुन थालेको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश वाग्लेका अनुसार सामान ल्याउने ट्रक तथा कन्टेनर दिनहुँ २०/३५ वटाको संख्यामा सीमापार गर्न थालेका छन् ।
हालसम्म तीन सयदेखि चार सयसम्म मालबाहक सवारी साधन केरुङ क्षेत्रमा पुगिसकेको र सामान लोड हुने क्रम जारी रहेको उनले बताएका छन् । उता केरुङ क्षेत्रमा सामान ढुवानी गर्ने सबैभन्दा ठूलो चिनियाँ मुसाटासपोर्टले भने नेपाल पठाउने सामग्री लोड गर्ने काम आज बिहानैदेखि थालेको छ ।
कपडा, जुत्ता, चप्पल, बच्चाका खेलौनालगायतका सामाग्री लोड हुन थालेको जनाइएको छ । चिनियाँ नयाँ वर्ष र ल्होछार पर्वका कारण कामदार बिदामा बस्दा गत माघको अन्तिम साताबाट बन्द भएको थियो ।
सामान आयात निर्यात नहुँदा सुनसान रहेको टिमुरे तथा रसुवागढी क्षेत्रमा चहलपहल बढ्न थालेको छ ।