काठमाडौँ, फागुन २० । शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाप कलेजमा राष्ट्रिय सुरक्षाबारे तेस्रो उच्चस्तरीय दश दिने तालीम शुरू भएको छ ।
तालीममा जङ्गी तथा निजामती सेवाका प्रथम र द्वितीय श्रेणीका अधिकृतसहित २४ जनाको सहभागिता छ । तालिममा राष्ट्रिय सुरक्षाबारे अवधारणा, राष्ट्रिय सुरक्षा नीति, नेपालको राष्ट्रिय सुरक्षा र आर्थिक दृष्टिकोण, अन्तर्राष्ट्रिय चुनौतीलगायतका विषयमा प्रशिक्षण प्रदान गरिनेछ ।
उक्त अवसरमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले तालिमले राष्ट्रिय सुरक्षा हेर्ने संयन्त्रलाई सहकार्यका लागि प्रोत्साहन गर्ने विश्वास राखे । तालीमबाट राष्ट्र हित र विकास कार्यमा विभिन्न मन्त्रालय तथा विभागबीच आपसी सहयोग र सहकार्यमा मद्दत पुग्ने उनको भनाइ छ ।
प्रधानसेनापति क्षत्रीले परम्परागत रुपमा राष्ट्रिय सुरक्षालाई सैनिक शक्तिसँग जोडेर हेर्ने गरिएकामा हाल आएर यसको दायरा बृहत् हुन गई मानव सुरक्षा, खाद्य सुरक्षा, ऊर्जा सुरक्षा, वातावरण सुरक्षाजस्ता विषयलाई समेटिएको उल्लेख गरे ।
रक्षा मन्त्रालयका सचिव विनोद केसीले तेस्रो चरण अन्तर्गत थालिएको तालिममा सुरक्षाबारे राज्यको प्रक्रिया, समस्या, सामना र आन्तरिक सुरक्षाबारे गृह मन्त्रालयको भूमिकाबारे छलफल गरिने बताए ।