काभ्रे, फागुन २१ । हरेक वर्ष चैत्र शुक्ल तृतीयाका दिन विश्व शान्तिको कामना गर्दैै मनाइने नाला जात्रा आइतबार साबिक उग्रचण्डी नाला (हाल बनेपा नपा–४) मा सम्पन्न भएको छ ।
नेवार समुदायले हरेक वर्ष यही तिथिको अवसर पारेर यो जात्रा मनाउँदै आइरहेका छन् । सम्पूर्ण भगवानको सृष्टिकर्ताका रूपमा सृष्टिकान्ता लोकेश्वरलाई लिइने गरेको लोकेश्वरका प्रमुख पुजारी पुन्यराज बज्राचार्यले बताए । बज्राचार्यले भने– यो जात्रा नालामा २०१७ सालदेखि मात्र मनाउन थालिएको हो, तर नेपाली पात्रोमा भने २०२६ सालदेखि भन्ने उल्लेख छ ।
पहिले यो मन्दिर काठमाडौँको बुँगमतीमा रहेको थियो । पछि तामाङहरू मिलेर मूर्ति चोरी गरी खासा पुर्याउने क्रममा यही बाटो हुँदै गएको र नालामा आइसकेपछि हावाहुरी चलेपछि यही ठाउँमा मूर्ति छोडेर गएको भन्ने भनाइ रहेको बज्राचार्य बताउँछन् । पछि यस ठाउँमा मन्दिरको स्थापनापछि नेवार समुदायले लोकेश्वरलाई पुज्दै आइरहेका छन् ।
नाला सृष्टिकान्ता लोकेश्वरको जात्रामा सेतो मछिन्द्रनाथ र रातो मछिन्द्रनाथको मूर्तिलाई नाला बजार परिक्रमा गराइने प्रचलन छ ।