भक्तपुर, फागुन २२ । भक्तपुर जिल्लामा तेस्रो किस्ता अनुदान रकम लिने भूकम्पपीडितको संख्या कम रहेको छ । लाभग्राही सूचीमा परेर पनि अनुदान किस्ता लिने पीडित एकदमै न्यून रहेका छन् ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण भक्तपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्लामा एक हजार ६६ भूकम्पपीडितले मात्रै भवन निर्माणका लागि तेस्रो किस्ता लिएको प्राधिकरणको भक्तपुर शाखाका प्रमुख शिवराम गेलालले जनाएका छन् । जिल्लामा २७ हजार ६४४ भूकम्पपीडित लाभग्राही सूचीमा रहेका छन् ।
हालसम्म २३ हजार १२५ लाभग्राहीले अनुदान रकमका लागि सम्झौता गरेका छन् । बाइस हजार ७९२ ले पहिलो तथा दुई हजार ७८ भूकम्पपीडितले दोस्रो किस्ता लिएका छन् । अनुदान रकम प्रक्रियामा रहेका पनि पहिलो किस्ताका लागि ३३३, दोस्रो किस्ताका लागि ३८५ र तेस्रो किस्ताका लागि ५५० लाभग्राही रहेका छन् भने घरनिर्माण शुरु गर्नेको संख्या सात हजार ३२ मात्रै रहेको गेलालको भनाइ छ ।
जिल्लामा सगोल परिवारको जग्गा विवाद, पुरातात्विक क्षेत्र, नक्सा पासमा कठिनाई तथा घर बनाउन रकम अभावका कारण घर निर्माणमा ढिलाइ भएको अनुगमनका क्रममा पाइएको उनले बताए । कार्यक्रममा प्राधिकरण शिक्षा शाखाका देवकुमार बडालले जिल्लामा तीनवटा विद्यालयको तीन कोठे भवन पुर्नःनिर्माण सम्पन्न भएको, आठवटा विद्यालयको क्रमागत रुपमा निर्माण भइरहेको र नौवटासँग सम्झौता भएको जानकारी दिएका छन् ।
उनले भक्तपुर नगरपालिकाभित्र रहेको नमूना विद्यालयको छनोटमा परेको श्रीपद्यम उमाविको करिब रु १४ करोडको लागतमा बन्न लागेको भवन सम्पदा क्षेत्रभित्र परेको भन्दै नगरपालिकाले नक्सापास नगरी दिँदा निर्माण हुन नसकेको र विद्यार्थी निकेतनमा पनि यस्तै समस्या रहेको बताए ।