राष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्न कांग्रेस बैठक बस्दै

काठमाडौँ, फागुन २३ । राष्ट्रपतिको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी दिनेसम्बन्धी निर्णय गर्न नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक डाकेको छ ।

काँग्रेस केन्द्रीय कार्यालय सानेपामा केहीबेरमा हुने बैठकले राष्ट्रपतिको उम्मेदवारी सम्बन्धमा पार्टीका तर्फबाट निर्णय लिने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

बैठकमा उपराष्ट्रपति, प्रतिनिधिसभाका सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी दिन ेसम्बन्धी एवं मुलुकको पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमका बारेमा समेत छलफल हुने मुख्यसचिव पौडेलले जानकारी गराए ।

नेपालको संविधान अनुसार संघीय संसद्को गठनपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रतिनिधिसभाका सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन हुन लागेको छ ।

राष्ट्रपतिको निर्वाचन यही फागुन २९ गते लाई तय गरिएको छ । उक्त निर्वाचनका लागि आज फागुन २३ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।