काठमाडौं, फागुन २३ । लागूऔषध कारोबार गर्ने गिरोहलाई प्रहरीले लागु औषधसहित पक्राउ गरेको छ ।
हालै काठमाडौंमा प्रहरीले मेसिनरी सामानमा प्रयोग हुने ग्रिजमा डुबाएर लागूऔषध ओसार पसार गर्ने क्रममा ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनिल घिमिरे, बिगु रायभर र भारत दरभंगा स्थायी घर भएका महम्मद रियाजुदिन रहेका छन् ।
प्रहरीले लागू औषधसहित नुवाकोट तलाखुका २५ वर्षीय सुनील घिमिरेलाई फागुन २० गते काठमाडौंको जैसीदेवलबाट पक्राउ गरेको थियो । उनको साथबाट २०३ थान डाइजेपाम, २०३ थान नुफिन, २०३ थान फेनारागन बरामद गरेको छ । उनको काठमाडौंमा डिलर रहेको बताइएको छ ।
फागुन २१ गते काठमाडौंको परोपकार पुलबाट पक्राउ परेका बारा गढिमाइका ३३ वर्षीय विगु रायभर र भारत दरभंगाका २६ वर्षीय महम्मद रियाजुदिनले २० लिटर र ५ लिटरको ग्रिजको बाल्टीमा डाइज्यालाप, नुफिन, फेनारागनलगायतका लागू औषध डुबाएर ल्याएको भेटिएको हो । प्रहरीले विगु र महम्मदले टर्बो प्लस ग्रिजको १८ केजीको बाल्टीनमा डुबाएर ल्याएको डाइज्यालाप, नुफिन फेनारागन गरी १ हजार सेट लागुऔषध बरामद गरेको छ । उनीहरुले ५ केजीको बाल्टीमा भने २५० र २५० गरी जम्मा ५ सय सेट, दुई वटा जेब्रा झोलामा लुकाएर राखेको अवस्थामा डाईजाल्याप, नुफिन र फेनारागन गरी १ सय सेट ल्याएका थिए । प्रहरीले उनीहरुको साथबाट ल्यापटप, गाजा पेल्ने मेसिन पनि बरामद गरेको छ ।
उक्त लागुऔषध जम्मा १८०३ सेटको ५४०९ थान रहेको छ । पक्राउ परेका तीनजना बाहेक ओसारपसारमा संलग्न अन्य दुई जनाको पनि पहिचान खुलेको र उनीहरुको खोजी कार्य भइरहेको डिएसपी टेकुनन्द ईवा लिम्बुले बताए । अन्दाजी २३ लाख मूल्य बराबरको लागु औषध बरामद भएको बुधबार प्रहरीले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ परेकाहरुलाई बुधबार सार्वजनिक गरेको छ ।
भारतको रक्सौल र अन्य नाकारबाट काडमाडौंमा ल्याइने लागू औषधहरु भित्रिएको सूचना पाएपछि चेकजाँचमा खटिएको काठमाडौं प्रहरी परिसरको टोलीले फागुन २२ गते दिउँसो १ बजे जैसीदेवलमा एम्बुस राखेर जेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।