खोटाङ, फागुन २४ । जिल्लामा उत्पादित अदुवाले बजार नपाउँदा किसान समस्यामा परेका छन् ।
जिल्लाका अधिकांश किसानले उत्पादन गरेको अदुवाले उचित बजार मूल्य पाउन नसक्दा किसानहरु मर्कामा परेका हुन् । भण्डारण गरेको ठाउँमै अदुवा कुहिन थालेपछि किसान चिन्तित देखिन्छन् । जिल्लाका पकेट क्षेत्रमा उत्पादित अदुवा बिक्री नहुँदा घरमै कुहिन थालेको अदुवा व्यवसायी महासंघका जिल्ला अध्यक्ष संग्राम राईको भनाइ छ ।
गत वर्षमा अदुवा बिक्रीबाट लाखौँ आम्दानी हुन्थ्यो, यस वर्ष बिक्री नभएपछि आँगनमै चाङ लगाएर राख्न बाध्य भएका छौँ उनले भने । वि.सं २०७१ मा प्रतिकिलो रु ८० देखि रु १५० सम्ममा बिक्री भएको अदुवाको बजार भाउ तीन वर्षयता खस्किएको छ ।
हाल अदुवाको बजार भाउ प्रतिकिलो रु २० देखि रु ४५ सम्म कायम रहेको छ । अदुवा खरिदका लागि यसअघि काठमाडौँ तथा तराईका इटहरी, कटारी र गाईघाटबाट व्यापारी आउने गरेका थिए । यस वर्ष काठमाडौँ तथा तराईबाट कोही नआएको किसानको भनाइ छ ।
बजार नपाएपछि मकै बालीसँगै अदुवा खेती गर्दै आएका किसान आगामी वर्ष अदुवा खेती छोडेर मकै खेती मात्र गर्ने तयारीमा लागेका छन् ।
किसानको समस्यालाई ध्यानमा राखेर अदुवा प्रशोधन केन्द्र स्थापनाका लागि दुईवटा ठाउँमा जग्गासमेत हेरिसकेको उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र लयालुको भनाइ छ ।