सिँचाइ सुविधा विस्तार हुँदै

ललितपुर, फागुन २४ । किसानका खेतबारीमा सिँचाइको पहुँच वृद्धि भएको छ । सिँचाइ विभागका प्रवक्ता दानरत्न शाक्यले खेतीयोग्य जमिनमा सिँचाइ हुने क्रम बढेको बताएका छन् ।

किसानले परम्परागत रुपमा सञ्चालन गर्दै आएको कुलोको सुधारका साना योजना र दातृ निकायको अनुदानमा सञ्चालित ठूला आयोजनाका कारण सिँचाइ हुने जमीन वृद्धि भएको हो । वर्षाको समयमा अहिले १३ लाख ५० हजार हेक्टर जमीनमा सिँचाइ पुगेको विभागको तथ्यांक छ ।

देशभरमा खेतीयोग्य जमीन जम्मा १७ लाख २६ हजार हेक्टर रहेको छ । सिँचाइमा सञ्चालित ठूला योजनाका कारण सिँचाइको क्षेत्रफल बढिरहेको उनको भनाइ छ । वर्षाको तुलनामा हिउँदमा कम जमीनमा सिँचाइ हुने प्रवक्ता शाक्यले बताए । हिउँदमा पानी कम हुँदा कम क्षेत्रफलमा सिँचाइ हुने गरेको हो ।

हिउँदमा जम्मा खेतीयोग्य जमीनको ३५ प्रतिशतमा मात्रै सिँचाइ हुन्छ । विभागका अधिकांश जिल्लामा कार्यालय रहेको छ । दातृ निकायको सहयोगमा सञ्चालित ठूला आयोजना विभाग आफैँले समन्वय गरिरहेको छ । साना योजना र मर्मतका काम जिल्लास्थित कार्यालयले गरिरहेका छन् ।

हामीले सिँचाइ सजिलै हुने अधिकांश खोलामा सिँचाइ शुरु गरेका छौँ उनले भने । कतिपय खोलामा भने सिँचाइसँगै बिजुली निकाल्ने बहुउद्देश्य योजना थालिएका छन् ।