काठमाडौँ, फागुन २४ । अध्यागमन विभाग र सो अन्तर्गतका कार्यालयका कमी कमजोरी हटाई तत्काल सुधारको काम अघि बढाउन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्देशन दिएका छन् ।
अध्यागन विभागको निरीक्षणपछि गृहमन्त्री थापाले अध्यागमनका केही कर्मचारीको मिलेमतोमा अवैध काम हुने गरेको भनिआएका नकारात्मक टिप्पणीहरु अन्त्य हुने गरी काम गर्न निर्देशन दिएका छन् । अध्यागमनकोे छविमा केही दिनभित्रै सुधार देखिने गरी कार्यशैलीमा परिवर्तन ल्याउनुपर्नेमा उनले जोड दिएका छन् ।
यो क्षेत्र राष्ट्रिय सुरक्षासँग जोडिएको विषय भएकाले यसलाई सोही अनुसार गम्भीर रुपमा लिनुपर्ने गृहमन्त्री थापाले प्रष्ट पारे । विश्वका अपराधीहरुले सहजै प्रवेश पाउनसक्ने मुलुकका रुपमा नेपाललाई चिनाउनबाट रोक्न पनि बिशेष सुरक्षाको पाटोलाइ ध्यान दिन उनले आग्रह समेत गरे । देशको सुरक्षा र स्थिरतासँग जोडिएको क्षेत्र भएकाले अध्यागमनको सुधार हुन सके देशकै सुरक्षा र स्थायित्वमा सुधार आउने उनको भनाइ छ ।
अध्यागमनलाई स्रोत साधन सम्पन्न गर्न तथा आवश्यक तालीमका लागि मन्त्रालयबाट पूर्ण रपमा सहयोग हुने उनको भनाइ थियोे । पाँच वर्षभित्र विकसित मुलुकका अध्यागमनले दिनेजस्तै सेवा, सुविधा र प्रविधि सहितको कार्यालय हुने गरी काम शुरु गर्नु उनले निर्देशन दिदै सरकारले आवश्यक आर्थिक सहयोग गर्ने बताए ।
अध्यागमनका कर्मचारीले आफूलाई मालिकका रुपमा होइन सेवकका रुपमा उभ्याउन उनले निर्देशन दिएका छन् । उनले कर्मचारीहरुलाई भने, ‘‘तपाईंहरु भोलि सेवानिवृत्त भएपछि साधारण नागरिकका रुपमा अध्यागमनबाट जुन किसिमको सेवाको अपेक्षा गर्नुहुन्छ, सोही अनुरुपको व्यवहार आज तपाईंहरुले गर्नुहोस् ।”
कार्यक्रममा गृहमन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, अध्यागमन विभागका महानिर्देशक दीपक काफ्लेले विभागको वर्तमान अवस्था र कामकारबाहीबारे मन्त्री थापालाई जानकारी गराएका थिए ।