प्रदेश ४ का मुख्यमन्त्री गुरुङले आज विश्वासको मत लिने

पोखरा, फागुन २५ । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार (आज) प्रदेशसभाबाट विश्वासको मत लिएका छन् ।

मुख्यमन्त्री गुरुङले आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव शम्भु खड्काले बताएका छन् । संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको छ ।

गत माघ २८ गते प्रदेश नं ४ का नेकपा (एमाले) संसदीय दलका नेतामा निर्वाचित भएका गुरुङलाई २९ गते प्रदेश प्रमुख बाबुराम कुँवरले मुख्यमन्त्रीमा नियुक्ति गरेका थिए । आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री गुरुङले विश्वासको मतका लागि प्रस्ताव राख्ने सचिव खड्काले जानकारी गराएका छन् ।

प्रस्ताव राखेपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने पाँचवटा दलका एक÷एक जनाले आ–आफ्ना विचार व्यक्त गर्नेछन् । छलफलमा उठेका विषयमा मुख्यमन्त्री गुरुङले जवाफ दिएपछि मत विभाजनको प्रक्रियामा लगिने सचिव खड्काले बताए । जम्मा ६० जना प्रदेशसभा सदस्य रहेको प्रदेश नं ४ मा विश्वासको मत लिन गुरुङले बहुमत प्राप्त गर्नुपर्छ ।

बहुमतका लागि ३१ मत प्राप्त गर्नुपर्नेमा यस प्रदेशमा एमालेको २७ र नेकपा (माओवादी केन्द्र)का १२ सदस्य रहेका कारण वाम गठबन्धनका साझा मुख्यमन्त्री गुरुङले सहजै विश्वासको मत प्राप्त गर्ने देखिन्छ ।

यस प्रदेशमा एमाले, नेकपा (माओवादी केन्द्र) बाहेक नेपाली काँग्रेसको १५, राष्ट्रिय जनमोर्चाको तीन, नयाँ शक्तिको दुई र एकजना स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।

मनाङका स्वतन्त्रतर्फबाट निर्वाचित प्रदेशसभा सदस्य राजीव गुरुङले भने शपथ लिएका छैनन् ।