काठमाडौं, फागुन २५ । विवादमा रहेका राष्ट्रियसभाका तिन सदस्यले आज सपथ लिएका छन् । केपी ओली नेतृत्वको सरकारले राष्ट्रियसभामा मनोनित गरेका तीनजना सांसदको सपथग्रहणको बाटो सर्वोच्च अदालतले खोलिदिए पछि उनीहरुले आजै पद तथा गोपनियताको सपथ लिएका हुन् ।
सर्वोच्चले तीनजना सांसदको सपथ ग्रहण रोक्न दिएको अन्तरिम आदेशलाई बुधबार खारेज गरिदिएको थियो । सर्वोच्चको यो आदेशसँगै सांसदहरु डा.युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेलले सपथ ग्रहण गरेका हुन् । यस अघि विपक्ष दलबाट परेको रिटमाथि छलफल गर्नका लागि यी तीन सांसदलाई सपथ ग्रहणमा रोक लगाइएको थियो ।
उनीहरुलाई राष्ट्रियसभाका जेष्ठ सदस्य तारादेवी भट्टले सपथ ग्रहण गराएकी छिन् ।
यसअघि, सर्वोच्च अदालतका न्यायाधीश प्रकाश राउतको एकल इजलासले दिएको अन्तरिम आदेशका कारण तीनैजना सांसदले सपथ लिन नपाउने भनी रोक लगाइएको थियो ।