गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा जोड

काठमाडौँ, फागुन २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीरअस्पतालको सर्जिकल भवनको आज शिलान्यास गरेका छन् । रु दुई अर्ब ८५ करोड लागतमा निर्माण हुने सर्जिकल भवनमा ६५० श्यया रहने जानकारी गराइएको छ ।

वर्तमान सरकारको ध्येय भ्रष्टाचार न्यूनीकरण गर्नुरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएका छन् । म भ्रष्टाचार गर्दिन, गरेको पनि सहन्न, आफ्नो कार्यकालमा देशलाई भ्रष्टाचारमुक्त बनाउँछु– उनले भने ।

नेपालको सबैभन्दा पुरानो र जेठो अस्पताल वीर अस्पतालको गुरुयोजना अन्तर्गत आज वीर अस्पताल सर्जिकल भवनको शिलान्यास उनले आर्थिक समृद्धिसहितको गतिशील विकासको यात्रा अघि बढेको बताए ।

प्रधामन्त्री ओलीले भने– मैले सुनेको छु, एउटा पुलको ११ पटक शिलान्यास भयो, अब यस्तो दिन समाप्त भयो, समयसीमाभित्र हरेक योजना तथा काम सम्पन्न गर्नैपर्छ, सीमाभित्र काम सम्पन्न नगर्नेमाथि कारबाही हुन्छ, अनुगमनमाथि अनुगमन हुन्छ ।

विसं २०७७ भित्र मैले शिलान्यास गरेको भवन निर्माण सम्पन्न हुनैपर्ने कुरामा जोड दिँदै उनले समयभित्र भवन निर्माण सम्पन्न गराउन आफूले नयाँ परम्परा बसाल्ने समेत जनाएका छन् ।

चिकित्सा सेवामा गम्भीर बन्न आग्रह

सरकारी अस्पतालको तुलनामा निजी अस्पतालले दिने सेवा प्रभावकारी हुन्छ भन्ने आम जनमानसमा रहेको कुरामा नाक ठोकिएको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रमा गम्भीर भएर सेवा प्रदान गर्न चिकित्सकहरुलाई अनुरोध समेत गरे ।

देब्रे घुँडा र दाहिने घुँडा छुट्याउन नै नसक्ने, एउटा खुट्टा बिरामी छ अर्काेको उपचार गर्ने ? यो तहको चिकित्सा सेवाले कहाँ पुर्याउछ ? यस प्रकारको हेलचेक्र्याईं दोहोरिन भएन, चिकित्सक र सिंगो चिकित्सा क्षेत्र गम्भीर बन्नुपर्यो प्रम ओलीले भने । उनले आफूले प्राविधिक शिक्षाको विकास र विस्तारमा पहिलो प्राथमिकता दिने जनाउँदै आम जनताको स्वास्थ्यस्थितिमा सुधार ल्याउन गुणात्मक फड्को मारिन बताएका छन् ।

प्रकृतिले नेपाललाई आरोग्यभूमि दिएको प्रसंग उल्लेख गर्दै प्रम ओलीले विकासले ल्याएको असन्तुलित प्रयोगलाई रोक्न आवश्यक रहेको बताए ।

सर्जिकल भवन यस्तो बन्दै

नौ तलाको बनेको अत्याधुनिक उक्त भवनभित्र १५ वटा चिकित्सा विज्ञानका अत्याधुनिक शल्यक्रिया (अपरेश थिएटर) रहने छन् । यसैगरी पोष्ट अपरेटिभ, ४० श्ययाको सर्जिकल अति सघन कक्ष र पुस्तकालय रहने छन् ।

साथै ज्येष्ठ नागरिक तथा अपांग तथा बिरामी कुरुवा मैत्री भवन बन्नेछ । नेपाल सरकारको रु दुई अर्ब ८५ करोडको लागतमा उक्त भवन वि.सं २०७७ भित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ ।

१५ सय श्ययामा विस्तार हुँदै

वि.सं १९४७ मा १५ श्ययाबाट सेवा प्रदान गर्न थालेको वीर अस्पतालले आफ्नो क्षमता एक हजार ५०० श्यायामा विस्तार गर्दै छ । कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)का उपकुलपति प्राडा गणेशमान गुरुङले ४५० श्ययाको वीर अस्पतालको क्षमता विस्तार भई एक हजार ५०० शैया पुर्याउन लागेको जनाएका छन् ।

यसका लागि न्याम्सले गुरुयोजना समेत कार्यान्वयनमा ल्याएको छ । योजनाका अनुसार छिट्टै ६५० श्ययाको मेडिकल भवन निर्माण कार्य थाल्ने तथा एक सय श्ययाको विशिष्ट प्रकारको विशेषज्ञ मेडिकल भवन जापान सरकारको आर्थिक सहयोगमा थालिएको छ ।

नेपालमै पहिलोपटक क्यान्सर रोगका लागि वीर अस्पतालले टेमोथेरापी उपकरण उपचार विधिमा ल्याउन लागेको बताइएको छ । यसका लागि अस्पतालले रु ४० करोडमा उपकरण समेत खरिद गरिसकको जनाइएको छ ।