अन्तर्राष्ट्रिय शाकाहारी सम्मेलन फागुन २६ र २७ गते

काठमाडौँ, फागुन २५ । अन्तर्राष्ट्रियस्तरको शाकाहारी सम्मलेन यही फागुन २६ र २७ गते काठमाडौँमा हुने भएको छ । नेपाल शाकाहारी संघ र अन्तर्राष्ट्रिय शाकाहारी संघको सहकार्यमा हुने सो सम्मेलनमा शाकाहारी परिकारको महोत्सवसमेत हुने संघका उपाध्यक्ष कृष्ण गुरूङले बताए ।

अमेरिका, थाइल्याण्ड, इजिप्ट, मलेसिया, इण्डोनेसिया, भारतलगायत तीसभन्दा बढी देशबाट सहभागी हुन आउने सम्मेलन नेपालमै पहिलोपटक गर्न लागिएको हो । सम्मेलनमा शान्ति, अहिंसा, करुणा, मानव स्वास्थ्य र जनावरपालनले पार्ने प्रभावका विषयमा कार्यपत्र प्रस्तुत हुने आयोजक कमिटीले बताएको छ ।

उद्योगधन्दाले भन्दा मांसाहारका लागि एकै स्थानमा अत्यधिक संख्यामा पालिने घरपालुवा जनावरले तापमान वृद्धि गर्न सहयोग पु¥याएका छन् । नेपालका ४०० बढी प्रतिनिधि कार्यक्रममा सहभागी हुने जानकारी गराइएको छ । कार्यक्रममा शाकाहारी जीवनशैलीलाई वैज्ञानिक तवरले बहस र व्याख्या गरिने संघका महासचिव सुरेश शर्माले जानकारी गराए ।

मासु र जनावरजन्य उत्पादनले क्यान्सरलगायत असाध्य रोग बढाइरहेको सन्दर्भमा शाकाहारको महत्वबारे जागरण फैल्याउने सम्मेलनको प्रमुख उद्देश्य रहेको बताइएको छ ।

सम्मेलनको उद्घाटन विगत बीस वर्षदेखि शाकाहारी खानपान अपनाउँदै आएकी महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापाले गर्ने लागिएको बताइएको छ । कार्यक्रमको प्रायोजन नेपाल पर्यटन बोर्ड, काठमाडौँ महानगरपालिका, हेल्लो नेपाल, हिमालयन अनटप र जनता बैंकले संयूक्त रुपमा गरेका हुन् ।