विद्युत अवरुद्ध हुँदा समस्या

पर्वत, फागुन २७ । धौलागिरिका चार जिल्ला पाँच दिनदेखि लगातार विद्युत् अवरुद्ध हुँदा जनजीवनमा स्मस्या परेको छ ।

जीर्ण बनेको विद्युत् टावर परिवर्तन गर्नका लागि गत बुधबारदेखि दैनिक दश घण्टा लाइन कटौती गर्दा जनजीवन प्रभावित बनेको हो । दैनिक बिहान ८ देखि साँझ ६ बजेसम्म विद्युत् नहुँदा यस क्षेत्रका उद्योग, कलकारखाना, व्यापार–व्यवसाय र सञ्चार माध्यम चौपट बनेका हुन् । यस क्षेत्रमा सञ्चालित दुग्धजन्य उद्योग, चाउमिन, दालमोठलगायत एक दर्जनभन्दा बढी उद्योग प्रभावित भएका छन् ।

त्यस्तै झण्डै दुई दर्जनभन्दा बढी सञ्चार माध्यम समस्यामा छन् । दैनिक दश घण्टाभन्दा बढी विद्युत् जाने भएकाले एफएम रेडियो र केबुल टेलिभिजन दिनभर बन्द गर्ने गरिएको छ । ‘लाइन बेलुका ५ बजे आउने भने पनि ७ बजेसम्म आउँदैन, त्यतिबेलासम्म ब्याट्री र जेनेरेटरले पनि धान्दैन’ त्यसैले बन्द गरेर बस्नुको विकल्प नभएको रेडियो शालिग्रामका स्टेशन म्यानेजर ओमप्रसाद घायलको भनाइ छ ।

नेपाल विद्युत् प्राधिकरणले मोदी–पोखरा १३२ केभी प्रसारण लाइन अन्तर्गत टावर नं ३५ बदली गर्न नयाँ टावर फेर्नका लागि फागुन २३ गतेदेखि लगातार विद्युत् सेवा बन्द गरेको हो । सन् २००० मा मोदीखोला जलविद्युत् केन्द्र निर्माण गर्ने बेलामा बनाइएको सो टावर जीर्ण बनेपछि अहिले परिवर्तन गर्नु परेको नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण शाखाका प्रमुख विजयराज रेग्मीले बताएका छन् ।

शनिबार साँझदेखि नियमित विद्युत् दिने तयारी भए पनि वर्षाका कारण काम गर्न नसकेकाले लम्बिएको हो– रेग्मीले भने । यो सँगै गर्मीयाम लागेपछि यस क्षेत्रमा विद्युत् अनियमित हुने गरेको छ । खोलामा पानीको बहाबसमेत कम हुँदा उत्पादन घटेको छ भने हावाहुरीका कारण पटक पटक विद्युत् अवरुद्ध हुने गरेको छ ।

एक दिनमै पचासौँ पटक लाइन आउने जाने समस्याले झनै समस्या उत्पन्न हुने गरेको छ । टावर मर्मत सँगै अन्य क्षेत्रका रूखबिरुवा काट्ने र लाइनसमेत सफा गर्न वितरण शाखालाई निर्देशन दिएको प्रजिअ राजेश पन्थीले जानकारी गराएका छन् ।

कुश्मामा सबस्टेसनसमेत सञ्चालनमा आइसकेकाले पर्वतमा समस्या भए पनि अन्य जिल्लामा विद्युत् नियमित गर्ने र अन्य जिल्लामा समस्या भए पनि पर्वतमा नियमित गर्न सकिने भएकाले अबदेखि लामो समय विद्युतमा समस्या नआउने पनि शाखा प्रमुख रेग्मीले बताए ।