काठमाडौं, फागुन २७ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई आज पद तथा गोपनीयताको शपथ दिलाएकी छिन् ।
महराले राष्ट्रपति भण्डारीबाट शीतल निवासमा सभामुख पदको शपथग्रहण गरेका हुन् । महरा दौरा सुरुवाल लगाएर शपथग्रहणका लागि शीतल निवास पुगेका थिए । नेकपा (माओवादी केन्द्र)का नेता महरा शनिबार सभामुखमा निर्विरोध निर्वाचित भएका थिए ।
माओवादी शान्ति प्रक्रियामा आएदेखि लगातार मन्त्री र सांसद भएका महराले यसअघि कहिल्यै पनि शपथग्रहणमा समेत दौरा सुरुवाल लगाएका थिएनन् । माओवादीबाट दुईजना नेता प्रचण्ड र बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पनि दौरा सुरुवाल लगाएनन् ।
संवैधानिक पदमा पुगेपछि नन्दबहादुर पुनले भने उपराष्ट्रपति भएपछि दौरा सुरुवाल लगाउने परम्परा बसाएकोमा महराले निरन्तरता दिएका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा भएको शपथ समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, मन्त्रिगण, संवैधानिक र सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारीलगायतको उपस्थित रहेको थियो ।