पर्यटक लक्षित आकस्मिक स्वास्थ्य उपचार सेवा संचालन

भक्तपुर, फागुन २७ । भक्तपुर आउने पर्यटकलाई अक्षित गर्दै आकस्मिक स्वास्थ्य उपचार सेवा संचालन भएको छ ।

आज भक्तपुर पर्यटन विकास समिति र डा इवामुरा अस्पतालबीच सो सम्बन्धी सम्झौता भएको हो । सम्झौता अनुसार अस्पतालले भक्तपुरमा आउने पर्यटकलाई निःशुल्क एम्बुलेन्स सेवा, विषाक्त खानालगायतको आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने अस्पतालका व्यवस्थापक रञ्जित मारिखुले बताए ।

पर्यटकका लागि आकस्मिक सेवा प्रदान गर्ने कुनै अस्पताल नभएकाले इवामुराले पर्यटन विकास समितिसँग सम्झौता गरी पर्यटकलाई सेवा प्रदान गरेको मारिखुको भनाइ छ ।

पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेलेले दुई निकायबीच भएको सम्झौताले भक्तपुरमा पर्यटक थप आकर्षित हुने विश्वास जनाए ।