अमानविय व्यवहार गर्ने दोषीलाई कारवाही गर्न निर्देशन

काठमाडौँ, फागुन २७ । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–५ मा २० वर्षीया राधा चौधरीमाथि बोक्सीको आरोप लगाई भएको अमाविय व्यवहार गर्ने दोषीलाई कारवाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले निर्देशन दिएको छ ।

कुटपिट र अभियुक्तलाई प्रहरीबाट छुटाइएको विषयमा तत्काल यथार्थ छानबिन गरी दोषीमाथि कारवाही गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । घटना भएको जानकारी आउनासाथ प्रधानमन्त्री कार्यालयले तत्काल कारवाहीको पहल गरेको जनाइएको छ ।

यही फागुन २४ गते राधालाई बोक्सीको आरोप लगाउँदै आफूलाई भोलेबाबा बताउने स्थानीय झाँक्री रामबहादुर चौधरीले घण्टौंँसम्म कुटपिट गरेको जनाइएको छ । प्रहरीले अभियुक्त रामबहादुरलाई छानबिनका लागि पक्राउ गरेपछि कानुनी कारवाहीको प्रक्रियामा जान नदिई उनलाई छाडिएको बताइएको छ ।

मानवता विरुद्धको यस्तो जघन्य अपराधमा संलग्न जो कोहीलाई उन्मुक्ति हुन नसक्ने प्रधानमन्त्री कार्यालयले बताएको छ । हाल स्वास्थ्य उपचाररत राधाको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने र थप उपचारका लागि उपयुक्त व्यवस्था गर्न सम्बन्धित निकाय अग्रसर भइसकेको बताइएको छ ।

नेपाललगायत विश्वले अन्तर्राष्ट्रिय महिलादिवस मनाइरहेको दिन नै घटेको यस्तो गम्भीर घटनाले अन्धविश्वास र कुरीतिको जरा समाजको तल्लो तहमा फैलिएको स्पष्ट भएको छ । यस घटनाले आधुनिक मानवीय चेतना र सभ्यतालाई नै अपमान गरेको छ र देशकै बेइज्जत गरेको छ ।

यस्ता आपराधिक घटना भविष्यमा दोहोरिन नदिन जनतामा रहेको अशिक्षा, अन्धविश्वास र पछौटेपनजस्ता कुराहरुलाई दुरुपयोग गर्दै लाभान्वित हुन खोज्ने गतिविधिलाई कठोरताका साथ रोक्न आवश्यकता रहेको प्रधानमन्त्रीका प्रेस सहयोगी रामशरण बजगाईंद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।