काठमाडौँ, फागुन २८ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परि आगोलागी भएको विमानका ७१ यात्रुमध्ये ३३ जना नेपाली भएको भन्ने जानकारीमा आएको छ ।
७१ मध्ये ३७ जना पुरुष र बाँकी महिला तथा बालबालिका भएको विमानस्थलले जनाएको छ । जहाजका ७१ यात्रुमध्ये २८ जनाको उद्धार गरेर अस्पताल लगिएको पर्यटन सचिव कृष्ण देवकोटाले बताएका छन् ।
उद्धार गरिएका २८ जना मध्ये कति नेपाली छन् भन्ने पुष्टी हुन सकेको छैन । उद्धार गरेर अस्पताल लगिएका केही यात्रुको मृत्यु भइसकेको बताइएको छ । अहिले अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओली। गृहमन्त्री रामबहादुर थापा लगायत अन्य मन्त्रीहरु एवं विभिन्न दलका नेताहरु विमानस्थल पुगेका छन् ।
प्रधानमन्त्री ओली तथा गृहमन्त्री थापा दुर्घटनास्थल पुगेर घाइतेको शीघ्र उपचार गर्न निर्देशन दिएका हुन् । उनीहरुले घटना दुःखद् भएको भन्दै सबैलाई धैर्य धारण गर्न अनुरोध गरेका छन् ।
दिउँसो १४ः२० बजे लागेको आगोलाई नेपाली सेना, नेपाल प्रहरी, काठमाडौँ तथा ललितपुर महानगरपालिका र विमानस्थलकै दमकलले निभाएका थिए ।