झाडीमा अवतरण गर्दैछु जस्तो लागेन….. ?

– राजेन्द्र प्रसाद पाठक

म त कहिले कता हो बाध्यताले मात्रै वायुयानमा उड्ने मान्छे हुँ । मेरो व्यक्तिगत अनुभवमा वायुमण्डलमा यात्रा गर्नु भन्दा धर्तियानमा नै यात्रा गर्न सुरक्षित ठान्दछु । किन भने जमिनमा यात्रा गर्दा चालकले मात्र होईन यात्रुले समेत स्वविवेक प्रयोग गरी आफुलाई सुरक्षित तुल्याउन सकेका घटना धेरै छन् । तर सोही कुरा हमेसा वायुयान यात्रामा लागु गर्न सकिंदैन भन्ने मलाई लाग्दछ । हुन सक्छ यात्राको अनुभव कम भएर पनि होला ।

धेरै जसो नवयात्रुहरु वायु यात्रामा सुरक्षा भन्दा रोमाञ्चित हुनतिर आतुर भए जस्तो मैले महसुस गरेका छु । हुन पनि हो यस्तो यात्रामा भगवान भरोसा वाहेक यात्रुको हातमा अरु केही पनि बाँकी रहदैन । त्यसैले त उड्नु अगावै आ– आफ्ना आस्था अनुरुपको धार्मिक प्रार्थना यानमा बजाएको मैले सुनेको छु । आजकाल सामाजिक सञ्जालमा धेरै त्यस्तो रोमाञ्चित् यात्रा अनुभवको फोटोहरु हालेको हेर्न पाईन्छ । अब त के लाग्दैछ भने जमीन मार्गबाट यात्रा गर्ने त अत्यन्तै कमजोर आर्थिक हैसियत भएका मात्रै हुन की भन्ने भान पर्दैछ । जब कि हाम्रै स्थानिय शहर भरतपुर , पोखरा जान समेत दुई दिन देखी हप्ता दिन सम्म नै भए पनि वायुयानको स्क्याजिउल कुर्ने तर सार्वजनिक सवारी साधनमा त परै जाओस् आफ्नै निजी सवारी साधन हुँदा समेत यात्रा गर्न नरुचाउने वर्ग हामी भित्रै छन् । किन भने भोली पर्सि साथी संङ्गीलाई यात्रा बिवरण सुनाउदा के मा यात्रा गरिस ? भन्दा बसमा , गाडीमा भन्दा लाज हुने भएरै पनि त्यो वायुसेवाको लामो स्क्याजिउल कुर्न नव भद्रभलाद्मी र नवधनाढ्यहरु बाध्य भएका होलान् ।

संसारभरी नै वायुयानको यात्रा भनेको कि त हतारमा गरिन्छ । कि त अति आवश्यकताले मात्रै गरिन्छ । तर हाम्रो देशमा भने हैसियत प्रदर्शन गर्नकै लागी गर्दै गरेको महसुस हुन थालेको छ । कयौं चिर परिचितहरु राजनितीमा लागेर आय आर्जन गर्ने समय बर्बाद भएकाहरु जो अत्यन्तै फुर्सदिला समेत छन् । उनिहरु समेत यात्रा गर्दा बिदेशमा रहेका आफन्तहरु र शुभचिन्तकहरुलाई आग्रह गरेरै भए पनि आन्तरिक हवाई यात्रामा जुटि रहेकाछन् । ति यात्रुहरु तथाकथित् आफ्नो हैसियत प्रदर्शन गर्न र फोटो संप्रेषण गरेर रोमाञ्चित् हुन वाहेक अवतरण गर्दा र उड्दा अन्य कुरामा हेक्का राख्दैनन् होला र त । हाम्रो सामान्य आँखाले र गैरप्राविधिक दिमागले समेत ठहर्याउन सक्ने धेरै कमिकमजोरीहरु हाम्रो धावन मार्ग निकटमै र एयरपोर्टमा सजिलै देखिरहेका हुन्छौं तर ति कमजोरीहरुले हामीलाई मात्र होईन दिग्गज प्राविधीक , जिम्मेवार राजनेता , सामाजिक अभियन्ता , पत्रकार कलाकार लगायतका अन्य सार्वजनिक सरोकार राख्ने क्षेत्रका होनहारहरुलाई समेत चेत नखुलेको स्पष्टै महसुस् गर्न सकिन्छ । किन भने हाम्रो एयरपार्टमा चिल , काग , गिद्ध लगायतको अन्य प्रजातीका चराहरु जो सिनोजन्य पदार्थ खाएर जीवनयापन गर्नेहरु नजिककै आकाशमा वादलसंङ्गै कावा खाई रहेका हुन्छन् । छेवैमा विशाल नेपाल आयल निगमको प्रज्वलनशिल पदार्थको भण्डार छन् । जो वायुयानको उडान र अवतरणमार्ग वरीपरि नै ति हेर्दा खतराको संकेत भन्दा पनि पंक्षी जस्तै उड्न पाएकोमा हामी अझैबढी रोमाञ्चित् हुन्छौं होला र त हामीले यसलाई नियन्त्रण गरेनौं । उड्दा र अवतरण गर्नै लाग्दा नजिकैको आकाशबाट हामीले देख्ने दृष्य भनेको कतै ठुलो झाडीको बिचमा क्रिकेटको सानो पिच जस्तो धावनमार्गमा अवतरण हुदै गर्दा यदी कथंकदाचित त्यो मार्ग बदल्न पुग्यो भने पुग्ने त सोही झाडीमा नै हो । अझै सुख्खा झाडी पर्यो भने त यसले आगलागीमा अझै मद्दत नै पुर्याउला । यत्ती मात्रै नभएर धावनमार्ग वरिपरिकै अग्ला गगनचुम्वी भवनहरु जस्ले हाम्रो प्रसासनिक , नगर शहर संयन्त्रलाई गिज्याई रहेको छ । ति अग्ला घर बस्तीका कारण वायुयान असुरक्षित हुने कुरा त स्वाभाविक नै होला यसले बस्तीलाई पार्न सक्ने खतरा अझै भयवह हुन सक्दछ । यि माथी उल्लेखित् सबै कुराहरु हाम्रा गैरप्राविधीक दिमागले समेत ठम्याउन सक्ने कुराहरु हुन् । तर ति कुराहरु हामीले कहिल्यै उठाएनौं । हामी भै नभई , सकि नसकी खर्च जुटाएर हैसियत प्रदर्शन गर्ने रोमाञ्चित् यात्रामै तल्लिन रही रहने हो भने हाम्रो हवाई यात्रालाई युरोपले त प्रतिबन्ध लगाएकै छ आगामी निकट भविष्यमा नै एसियाले र नजिकैको छिमेकी भारत र चिनले समेत लगायो भने पनि आश्चर्य मान्नु पर्ने छैन ।

हामी हाम्रो दाँत समेत आफै माझ्न नसक्ने र पहिरन समेत आफ्नो लाउन नसक्ने र घर र शहर , नगर सफागर्न समेत आई.एन.जि.ओ. खोजी रहेका छौं । हाम्रै काम गर्न आउने संङ्ग हामी दैनिक भत्ता र कमिशनको मोलीमोलाई गरिरहेका छौं । हामीलाई अब लाज छैन हाम्रो चर्पि बनाईदेऊ भन्न । केही समय त हाम्रा कमजोरीहरु माथी खेल्न बिदेशीहरु रमाए होलान् । तर अब ति सबै दिग्दार नै भएर होला । अब दिनानु दिन उनीहरु हामी माथी प्रतिबन्ध थोपर्दैछन् । भिषामा त बिश्वका अधिकाँश उन्नत देशहरुले प्रतिबन्ध लगाई सके । केही एजेन्टहरु र उच्च पदस्थहरुलाई भिषा दिएर मानव अधिकार जोगाए जस्तो गर्दैछन् । ति भिषा पाउनेहरुले समेत नाक घिरौंला जस्तो नबनाए हुन्छ किन कि उनिहरुको नजरमा ति सबै राउटेहरु नै हुन् । संसारले यिनीहरुका लागी अलग्गै कक्ष बनाई दिएको छ यिनीहरुको जीवन पद्घती हेरेर एक्काईसौं शताब्दिको मानवको खिल्ली उडाई रहेको छ । यदी कतै उनिहरुलाई बिदेशमै म्युजियम बनाएर राखी दिए भने पनि अन्यथा मान्नु पर्दैन । यस्तो भयावह अवस्था हामी आफैले श्रृजना गरिरहेकाछौं । एउटा मात्रै भएको एयरपोर्ट समेत सफा , चुस्त दुरुस्त राख्न सकेनौं । भएका बनेका बाटोघाटो समेत चुस्त र मर्मत गरेका छैनौं । प्रधानमन्त्री भएकाले मालदार मन्त्रालय भनेर आफ्नो आर्थिक बृद्घिका लागी नजिकको र आफन्त भन्नेलाई नै दिएर सडक मर्मत र निर्माणबाट कमिशन असुल्ने काम भैरहेको छ ।

बिगतको मन्त्रिमण्डलमा प्रधानमन्त्री पत्नी आरजु देउवा स्वयं सहभागी भएर बिभिन्न ठुला ठुला योजनाका राजमार्गहरुको ठेक्का पट्टा दिलाएको र सो बाट प्राप्त कमिशन बटुलेको खबरले हामी सबैलाई स्तब्ध तुल्याउन पर्ने हो तर हामी आ आफै पार्टी र संङ्गठनका नाममा ढाकछोप समेत गरिरहनु कति सम्मनको अर्कमण्यताको पराकाष्टा हो हामी आफैंने मुल्यांकन गर्न सक्नु पर्दछ । अझै एयरपोर्ट मर्मतमा समेत घोटाला भएको समाचार कत्तिको लज्जास्पद मानव अधिकार बिपरित होला त्यो समयले नै निक्र्यौल गर्दै जाने नै छ । युएस बंगाल एयरको हिजो दुर्घटनामा जीवन गुमाउन बाध्य हुनु भएका हाम्रा अनन्य मित्र दाजु , बरिष्ट न्युरो सर्जन डा. बालकृष्ण थापा लगायत देशका होनहार युवा प्राबिधीकहरु जसले सुनौलो भबिष्यका लागी आफ्नो देशमा पढ्ने समेतको अवसर नपाएर बिदेशमा गएर भविष्य आजमाउन खोज्ने ति होनहार मृत आत्माले मुक्ति पाओस् । घाईतेहरुको शिघ्र स्वास्थ लाभको कामना गर्दै । हाम्रो यो बिग्रदो चरम् संरचनात्मक लापर्वाहीलाई आफ्नो जीवनसंङ्ग आत्मसाथ गर्दै यसैलाई संमृद्घीको अवस्था सम्झिएर हैसियत बढेको महसुस गर्नु भन्दा पहिले हाम्रो अमुल्य जीवनसंङ्ग कतै खेलवाड भैरहेको त छैन ? सो बिषयलाई गहिरो अध्ययन अनुसन्धान हुनु जरुरी छ । आगामी दिनमा हामीले प्रयोग गरीरहेको र गर्न अपेक्षाकृत हवाईसेवा कत्तिको सुरक्षित छ त ? त्यसमा समेत ध्यान दिनु जरुरी छ । अन्यथा हामीले हाम्रो हैसियत र जीवन सुरक्षा अनुरुपको यात्रा प्रणाली अवलम्वन गर्न लजाउनु पर्दैन । अस्तु !!