निर्वाचनमा सबै पार्टी गम्भीर हुन एमालेको आग्रह

काठमाडौँ, ३० जेठ । राष्ट्रिय जनता पार्टीलाई नेकपा (एमाले)ले सबै खालका अराजनीतिक गतिविधिहरु बन्द गरी निर्वाचनलाई प्रतिकूल असर पर्ने आन्दोलनका सबै कार्यक्रम फिर्ता गरी स्थानीय तहको निर्वाचनमा भाग लिन आग्रह गरेको छ ।

आगामी असार १४ गते हुन लागेको दोस्रो चरणअन्तर्गत स्थानीय तहकोे निर्वाचनका लागि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बसेको स्थानीय निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिको बैठकले असन्तुष्ट पक्षहरुले घोषणा गरेका सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिन आह्वान गरेको हो । बैठकले राष्ट्रिय जनता पार्टी (राजपा) का नामबाट देशका विभिन्न भागमा भएको अराजनीतिक गतिविधिलाई तत्काल रोक्न दवाव दिएको छ ।

राजपाले सार्वजनिक तथा सरकारी सम्पत्तिको तोडफोड गर्ने, नेकपा (एमाले), नेपाली काँगे्रस, नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरम लगायतका दलविरुद्ध कुटपिट, आगजनी र तोडफोड गर्ने,सवारी साधनहरुमाथि तोडफोड र आगजनी गर्ने, कर्मचारीहरुमाथि कुटपिट र दुव्र्यवहार गर्नेजस्ता घटनाको निन्दा निन्दा गर्दै घोर भत्र्सना समेत गरेको छ । एमालले यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै शान्ति सुरक्षा कायम गर्न नेपाल सरकारसमक्ष जोडदार माग गरेको छ ।

नेकपा एमालेका पार्टी महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले दोस्रो चरण अन्तर्गत हुने स्थानीय तहको निर्वाचनको प्रचार–प्रसार तथा सङ्गठन परिचालनका लागि केन्द्रीय नेताहरु, सांसदहरु, जनसंगठनका केन्द्रीय नेताहरु एवं पहिलो चरणमा निर्वाचित जनप्रतिनिधिहरुलाई विभिन्न ठाउँमा खटाउने निर्णय समेत गरेको छ । पहिलो चरणको निर्वाचनबाट प्राप्त अनुभवहरूलाई शिक्षाको रुपमा लिँदै दोस्रो चरणको निर्वाचनमा नेकपा (एमाले)का उम्मेदवारहरुलाई विजयी बनाउन अझ बढी एकताबद्ध भएर सिंगो पार्टीलाई परिचालित गर्ने निर्णय गरेको पार्टीका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी गराएका छन् । सो बैठकबाट दोस्रो चरण अन्तर्गत स्थानीय तहको निर्वाचन असार १४ गते तोकिएको मितिमै सम्पन्न हुनुपर्ने कुरामा जोड दिँदै कुनै पनि बहानामा निर्वाचनलाई पछि धकेल्ने षड्यन्त्रका विरुद्ध सजग रहन आम जनसमुदायलाई आह्वान गरेको छ ।

लामो समयको अन्तराल पश्चात हुन लागेको स्थानीय तहको पहिलो चरणको निर्वाचन सभ्य रुपमा सम्पन्न भएको र दोश्रो चरणको निर्वाचन पनि सोही अनुरुप तोकिएको समयमा नै हुनुपर्ने र निर्वाचन गराउन सरकार तयार रहन आग्रह गरिएको छ । निर्वाचनलाई पछि धकेल्ने र अन्योल सिर्जना गर्ने कुनै पनि कुराप्रति पार्टीको गम्भीर असहमति रहने नेकपा एमालेले जनाएको छ ।