काठमाडौँ, चैत १ । शिवम अधिकारीको लेखन र निर्देशनमा बनेको चलचित्र ‘पञ्चायत’ शुक्रवारबाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएकोे छ ।
यस चलचित्रमा अभिनेता सरोज खनाल र अभिनेत्री नीता ढुंगानाको मुख्य भुमिका रहेको छ । यस चलचित्रले ५० बर्ष अगाडिको सामाजिक संरचना र त्यो समयका किशोरीहरुको यौन मनोविज्ञानलाई समाजले हेर्ने दृष्टिकोण र छाउपडी प्रथामा बस्ने किशोरीको पीडालाई समेटेको छ ।
चलचित्र ‘पञ्चायत’को कथा अभिनेता सरोज र नीताको वरिपरि घुमेको छ । सरोजले गाउँको प्रमुख व्यक्तिको भूमिका निभाएका छन् भने, नीता १४ वर्षकी किशोरीको रुपमा देखिएकी छिन् । विशेषतः उक्त चलचित्र अभिनेत्री नीताका लागि महत्वपूर्ण छ ।
कयौं चलचित्रमा खेलिसकेकी नीताका चलचित्र लगालग असफल भइरहे पनि उनको हातमा चलचित्रको भने कमी छैनन् । उनी एकपछि अर्को चलचित्रमा व्यस्त भइरहेकी छिन् । यसकारण पनि उनलाई ‘पञ्चायत’ चलचित्र हिट हुनुपर्ने चुनौती देखिन्छ ।
आफू अभिनित चलचित्रको प्रचारमा नहिँड्ने अभिनेत्रीको ट्याग नीताले पनि पाएकी छिन् । तर, ‘पञ्चायत’ को हकमा भने उनले प्रशस्तै समय छुट्याएकी छन् । मोफसल प्रचारदेखि मिडियामा फिल्मको विषयमा बोल्न उनी दिनरात हिँडिरहेकी छिन् । यसबाट के प्रष्ट हुन्छ भने यो चलचित्रबाट नीता निकै आशावादी छिन् ।
केही दिन अगाडि राजधानीमा गरिएको भिआईपी शोमा उक्त चलचित्रले राम्रो तारिफ पायो । नीता अब दर्शकको प्रतिक्रिया लिन आतुर छिन् । २५ वर्षको उमेरमा १४ वर्षे किशोरीको भूमिका निभाउनु आफ्ना लागि चुनौती रहेको नीताको भनाइ छ ।
७ वर्ष अगाडि नै मकहाँ यो चलचित्रको स्क्रिप्ट आएको थियो उनले भनिन् । त्यतिबेला मैले त्यो भूमिकामा फिट हुँदिन भनेर रिजेक्ट गरेँ । फेरि निर्देशक शिवम् अधिकारीले मलाई १४ वर्षे युवतीको भूमिका निभाउन सक्छौं भनेर आत्मविश्वास दिलाउनुभयो । राम्रो स्क्रिप्ट भएका कारण मलाई चलचित्र छोड्न मन थिएन । अनि, ‘पञ्चायत’ गरेँ उनले भनिन् ।
चलचित्रमा निभाएको भूमिकालाई दर्शकको कस्तो प्रतिक्रिया आउने हो भन्नेमा पनि उनीलाई खुब चिन्ता छ । यस चलचित्रमा निभाएको भूमिकापछि नीताले आफूलाई ‘भर्सटायल’ अभिनेत्रीको रुपमा उभ्याउन सफल भएको चर्चा भने सुरु भएको छ ।
‘पञ्चायत’ मा रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठलगायतको पनि अभिनय रहेको छ । ग्रामीण परिवेश र पुरानो संस्कृति झल्काउने चलचित्रमा गणेश गिरीको प्रस्तुति तथा सुशान्त श्रेष्ठ र शंकर सुवेदीको लगानी रहेको छ ।
चितवनका सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको चलचित्रमा टंक बुढाथोकीको संगीत, रामेश्वर कार्कीको छायांकन र विपिन मल्लको सम्पादन रहेको छ ।