काठमाडौँ, चैत १ । उपभोक्ता अधिकारको संरक्षणमा सरकार पूर्ण रुपमा प्रतिबद्ध भएर लागेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
आज विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रम ओलीले सरकार नयाँ कानूनको तर्जुमा गरी उपभोक्ता अधिकारलाई थप मजबुत बनाउन तयार रहेको जनाएका छन् । उपभोक्तालाई पनि आफ्नो अधिकारको संरक्षण र कर्तव्य पालनामा सक्षम बनाउन उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिदैं उपभोक्ता अधिकार संरक्षणका लागि सरकारी निकाय, यस क्षेत्रमा क्रियाशील संघसंस्था र सञ्चारकर्मीको महत्वपूर्ण भूमिका अपेक्षित रहेको उनको भनाइ छ ।
उपभोक्ता अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय संस्थाको आह्वानमा मार्च १५ अर्थात् आजको दिनलाई विश्व उपभोक्ता अधिकार दिवसका रुपमा मनाउन लागिएको हो । संयुक्त राष्ट्र संघको महासभाले पारित गरेको उपभोक्ता अधिकारसम्बन्धी मार्गनिर्देशनसमेतका आधारमा सरकारले मुलुकका राष्ट्रिय कानूनमा आवश्यक परिमार्जन गर्नुका साथै यस क्षेत्रमा नयाँ कानूनको तर्जुमा गरी उपभोक्ता अधिकारको संरक्षणमा महत्वपूर्ण कार्य गर्दै आएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख गरिएको छ ।
प्रधानमन्त्री ओलीले अहिले देशमा उपभोक्ता हितका लागि उपभोक्ता संरक्षण ऐन र विभिन्न क्षेत्रगत कानूनको व्यवस्था गरी तदअनुरुपका योजना तथा कार्यक्रम सञ्चालनमा रहेको समेत उल्लेख गरे । नेपालको संविधानमा प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक रहेको रहेको उल्लेख गर्दै उनले गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति पुगेका व्यक्तिलाई कानून बमोजिम क्षतिपूर्ति पाउने मौलिक हकसहितको संवैधानिक व्यवस्था रहेको उल्लेख गरे ।
संविधानमा भएको व्यवस्था अनुसार सबै उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको प्रम ओलीले सन्देशमा उल्लेख गरेका छन् । उद्यमी र व्यवसायीले उपभोक्ता अधिकारको संरक्षण, सम्मान र पालना हुने गरी आफ्ना क्रियाकलाप सञ्चालन गर्नुपर्ने बताउँदै उपभोक्ताले पनि आफ्नो हक अधिकारप्रति सजक भई कानूनले प्रत्याभूत गरेका अधिकारको प्राप्ति, उपभोग र पालनामा थप जागरुप हुनु जरुरी रहने उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले उपभोक्ता अधिकारका क्षेत्रमा सक्रिय नियामक निकायले आफ्ना कार्य क्षमताका विकास र विस्तार गरी उपभोक्ता अधिकार संरक्षणका लागि अझ क्रियाशील हुनुपर्ने खाँचो औँल्याएका छन् । सरकारले यस वर्ष उपभोक्ता दिवसको अवसरमा ‘उपभोक्ता जागरण अभियानमा स्थानीय तहको सक्रियता’ नारा तय गरेको छ ।
प्रधानमन्त्री ओलीले उपभोक्ता अधिकार दिवसको अवसरमा उपभोक्ताको अधिकारलाई सुरक्षित गर्न उद्यमी, व्यवसायी, नियामक निकाय र सरोकार भएका सबैलाई परिणाममुखी ढंगले काम सक्न सफलता मिलोस् भन्ने कामनासमेत गरेका छन् ।