खोटाङ, चैत २ । दिक्तेलदेखि धरान र विराटनगर आवतजावतका लागि पहिलोपटक जिल्लाबाट सिधा यातायात संचालनमा ल्याइएको छ ।
शुक्रबारदेखि यातायात व्यवसायी संघ खोटाङले दिक्तेलबाट विराटनगर बिहान ४ः३० बजे र धरान ५ः१५ बजे बस छुट्ने गरी नियमित यातायात संचालनमा ल्याएको हो । विराटनगरको पूर्व नेपाल यातायात व्यवसायी संघको कार्यालयमा भएको व्यवसायीको प्रतिनिधिमूलक भेटघाट र छलफलबाट धरानबाट दिक्तेलका लागि बिहान ४ः३० र विराटनगरबाट ४ः५० मा छुट्ने समय निर्धारण गरिएको छ ।
दिक्तेल–विराटनगरका लागि प्रतिव्यक्ति रु एक हजार १७५ र दिक्तेल—धरानका लागि रु एक हजार १५० भाडादर तोकिएको यातायात व्ययवसायी संघ खोटाङका महासचिव राम हिङ्माङले जनाएका छन् ।
दूधकोशीमा पक्की पुल निर्माण भएपछि दिक्तेल–हलेसी–घुर्मी कटारी हुँदै धरान र विराटनगर सिधा यातायात संचालनमा ल्याइएको महासचिव हिङ्माङले बताए ।
जिल्लाबाट राजधानी काठमाडौँलगायत तराईका जिल्लासँग सिधा यातायात सुचारु भएपछि यात्रुलाई बस परिवर्तन गरिरहनुपर्ने झन्झट टरेको छ ।