काठमाडौँ, चैत ३ । चिनियाँ राष्ट्रपति सि जिङ फिङलाई चीनको राष्ट्रपतिमा पुनः निर्वाचित भएकोमा राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई दिएकी छिन् ।
राष्ट्रपति भण्डारीले आज एक बधाई सन्देश दिदै नेपाल र चीनबीच सुमधुर आपसी सम्बन्ध रहँदै आएको र सो मैत्री सम्बन्ध आगामी दिनमा पनि झन् मजबुद हुने विश्वास व्यक्त गरेको परराष्ट्र मन्त्रालयले बताएको छ । यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले चिनियाँ उपराष्ट्रपतिमा निर्वाचित भएकोमा वाङ क्वीसानलाई बधाई ज्ञापन गरेका छन् ।
उपराष्ट्रपति पुनले आफ्ना चिनियाँ समकक्षीलाई आजै दिएको बधाई सन्देशमा नेपाल र चीनबीचको सम्बन्ध आगामी दिनमा अझ बलियो हुने विश्वास व्यक्त गरेका छन् । यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चिनियाँ राष्ट्रपति सि जिङ फिङ पुनः राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई ज्ञापन गरेका छन् ।
प्रधामन्त्री ओलीले आज दिएको बधाई सन्देशमा नेपाल र चीनबीचको सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै उच्चस्तरमा हुने भ्रमण र जनस्तरको सम्बन्धले यसलाई अझ प्रगाढ बनाउने बताएका छन् । सन्देशमा प्रधानमन्त्री ओलीले नेपाल ‘एक चीन नीति’ प्रति प्रतिबद्ध रहेको र नेपालको भूमी चीनविरुद्ध प्रयोग हुन नदिइने बताएका छन् ।
साथै, प्रधानमन्त्री ओलीले राष्ट्रपति फिङको कार्यकालमा दुई देशबीचको आपसी सम्बन्ध अझ दरिलो हुनेमा विश्वास व्यक्त गरेका छन् ।