देश अब संविधान कार्यान्वयनमा अघि बढिसकेको छ : खनाल

इलाम, चैत ४ । देश अब संविधान कार्यान्वयनमा अघि बढिसकेको पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले बताएका छन् ।

नेकपा एमाले इलामको पार्टी कार्यालयमा कार्यकर्ता भेटघाटका क्रममा उनले तीन तहको निर्वाचन र देशले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्री नयाँ संविधान अनुसार पाइसकेकाले देश संविधान कार्यान्वयनको चरणमा पुगेको बताएका हुन् । दश वर्ष लगाएर बनाइएको नेपालको संविधान विश्वकै उत्कृष्ट र सफल संविधान हो, उनले भने, देशले अब संविधान कार्यान्वयनको चरण पार गर्दैछ ।

स्थायी सरकार भएकाले दिगो विकास र आर्थिक समृद्धि नै अबको लक्ष्य रहेको उनको भनाइ थियो । स्थानीय सरकार, प्रदेश र केन्द्रीय सरकारबीच तालमेल हुनुपर्नेमा जोड दिँदै उनले तालमेलबिना विकास हुन नसक्ने विचार व्यक्त गरे । कुनै क्षेत्र र जिल्लाको मात्र विकास भएर सिंगो देशको विकास हुन नसक्ने बताउँदै उनले सबै ठाउँको समानुपातिक विकास हुनुपर्नेमा जोड दिएका छन् ।

राम्रो काम गर्ने स्थानीय तहको र प्रदेशको अनुशरण गर्न सक्नुपर्ने उनले बताए । उनले इलाममा बीसवर्षे गाडी सञ्चालन हुनुपर्ने विचार व्यक्त गरेका छन् ।

भौगोलिक विकटताका कारण इलाममा २० वर्षे पुराना भए पनि यिनै गाडी उपयुक्त रहेको उनको भनाइ थियो ।