काठमाडौँ, चैत ५ । वन क्षेत्रलाई उचित सदुपयोग गरेर मुलुक समृद्धिको प्रमुख आधार बनाउन सकिने वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बताएका छन् ।
पुल्चोकस्थित आफ्नो सरकारी निवासमा छलफल गर्दै उनले मुलुकको आर्थिक समृद्धिका लागि वन क्षेत्रमा व्यापक र अपार सम्भावना रहेको विचार व्यक्त गरे । वन क्षेत्रमा अपार सम्भावनाका साथै संरक्षण र उपयोगलाई कसरी सँगै लैजाने भन्ने चुनौती पनि रहेको र यसमा सुशासन अनिवार्य शर्त हुनुपर्ने मन्त्री बस्नेतको भनाइ छ ।
उनले वन क्षेत्रमा थोरै लगानीमा उचित व्यवस्थापन गर्न सके जनताका आवश्यकता पूर्ति, रोजगारी सिर्जना, राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने विश्वास व्यक्त गरे । वन क्षेत्रको उचित सदुपयोग र व्यवस्थापन गरेर मुलुकमा विदेशी काठको आयात विस्थापनका साथै काठको निर्यातसमेत गर्न सकिने मन्त्री बस्नेतले बताए ।
उनले मुलुक संघीय संरचनामा गइसकेको सन्दर्भमा संघ, प्रदेश र स्थानीय तीनै तहमा वन क्षेत्रको व्यवस्थापनका लागि नीतिगत र संरचनागत पुनःसंरचनाको अवश्यकता औँल्याए । मन्त्री बस्नेतले वन मन्त्रालयमा वातावरण मन्त्रालय पनि पूरक भएर जोडिएकाले आगामी दिनमा दुवै विषयका कामलाई प्रभावकारी कार्यान्वयनमा लैजान कार्ययोजना बनाई अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।
मन्त्री नियुक्त भएलगत्तै वन तथा वातावरण क्षेत्रका सबै सरकारी निकाय र सरोकारवाला विज्ञसँगको चरणबद्ध छलफलमा जटेका मन्त्री बस्नेतले यस क्षेत्रको जानकारीपछि कार्यान्वयनमा अघि बढ्ने प्रष्ट पारे ।